
काठमाडौं, १९ साउन । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले हैसियतअनुसार काम गर्न नसक्दा महानगरको स्तर खस्किएको बताउनुभएको छ ।
शनिबार नेपाल खेलकुद महासंघ काठमाडौंले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा महानगर प्रमुख बालेन्द्र शाहप्रति लक्षित गर्दै उहाँले धरहरा भत्काई दिने भन्दै आपत्तिजनक अभिव्यक्ति दिनु वाञ्छनीय नहुने बताउनुभएको हो । उहाँले अरुलाई गाली गरेर जस लिने तर काम केही पनि नगर्ने प्रवृत्ति हुनु नहुने बताउनुभयो ।
शाक्यले आफू काठमाडौं महानगरको मेयर हुँदा महानगरले विभिन्न राम्रा काम गरेको स्मरण गर्नुभयो । उहाँले आफू मेयर रहँदासम्म काठमाडौं महानगरपालिकाको हैसियत सरकारले ९औं स्थानमा राखेको भए पनि अहिले हैसियतअनुसार काम नहुँदा १७औं स्थानमा पुगेको जिकिर गर्नुभयो ।
‘धरहराकै कारण अहिले पनि कसैले चर्चा पाइरहेका छन् । कसैले पायो भने त्यस क्षेत्र भत्काउँछु भन्ने तर अरु बेलामा सुविधा सबै लिने । गाली गरेर जस सबै आफूले लिने अपजस सबै अरुलाई दिने गर्छन् । हामीले हाम्रो हैसियतअनुसार काम गर्न नसक्दा, नेतृत्वले आफ्नो भूमिका निर्वाह गर्न नसक्दा सरकारले अवमूल्यन गरेर काठमाडौं महानगरपालिकाभन्दा देशभरका सम्पूर्ण मेयर÷उपमेयरलाई तल राख्ने काम गरको छ । हामी सबैले आफ्नो हैसियत बुझेर काम गर्नुपर्छ ।’ उहाँले भन्नुभयो ।
पूर्वमेयर शाक्यले स्थानीयको इच्छा विपरित कामनपाले काम गरिरहेको बताउनुभयो । उहाँले न्युरोडमा नगरप्रहरीको बलमा जनप्रतिनिधिलाई पेल्ने काम भएको आरोप लगाउनुभयो । उहाँले जनप्रतिनिधि सडकमा र नगर प्रहरी लाठी बोक्ने काममा लगाएको बताउनुभयो । उहाँले नगर प्रहरीको बलमा गुण्डागर्दी सह्य नहुने पनि बताउनुभयो । उहाँले नगर प्रहरी अनावश्यक रूपमा थपिएको भन्दै आवश्यकता नरहेको जिकिर गर्नुभयो । उहाँले भत्काउने काममा मात्रै महानगर लागेको भन्दै महानगरवासी बनाएको भन्नेकुरा सुन्न आतुर रहेको बताउनुभयो ।
शाक्यले महानगरपालिकाले करको सही सदुपयोग गर्नुपर्ने बताउनुभयो । सत्तामा भएकाहरू आफू रमाउनको लागि नभई भविष्यको पुस्ताको खुसीका लागि लाग्नुपर्ने उहाँले बताउनुभयो ।








प्रतिक्रिया