
काठमाडौं, १९ साउन । सत्तारुढ दल नेकपा (एमाले)का सचिव तथा संसदीय विभाग प्रमुख योगेशकुमार भट्टराईले संविधान संशोधनको प्रक्रियामा सबै राजनीतिक दलहरूको सहभागिता आवश्यक रहेको बताउनुभएको छ ।
शनिबार ताप्लेजुङ सरोकार केन्द्रले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सचिव भट्टराईले कांग्रेस-एमाले सबै राजनीतिक दलहरुलाई साथमा लिएर संविधान संशोधन गर्ने पक्षमा रहेको बताउनुभयो ।
उहाँले मुलुकको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधान संशोधन गर्ने कुरालाई अघि बढाउने सोच सत्तारुढ गठबन्धनले लिएको बताउनुभयो । संविधानलाई गतिशील बनाउनेगरी संशोधन गर्ने सोच अघि सारिएको उल्लेख गर्नुहुँदै उहाँले त्यसमा आवश्यक सुझाव दिन पनि विज्ञहरुलाई आग्रह गर्नुभयो ।
सचिव भट्टराईले मुलुकका दुई ठूला दलको सरकार बनेपछि सकारात्मक सन्देश गएको र यसले देशलाई सही दिशामा अघि बढाउने उल्लेख गर्नुभयो । सचिव भट्टराईले सरकारले मुलुकमा बाह्य लगानी भित्र्याउने गरी वैदेशिक सम्बन्धलाई अघि बढाउने विश्वास पनि व्यक्त गर्नुभयो ।









प्रतिक्रिया