
काठमाडौं, १९ साउन । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक गम्भीर चक्रव्यूहमा फसेकाले त्यसबाट जोगाउन नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउनु परेको बताउनुभएको छ ।
नेपाल निजामती कर्मचारी संगठन ललितपुर जिल्ला कार्यसमितिले शनिबार आयोजना गरेको वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री पौडेलले चक्रव्यूहमा फसेको मुलुकलाई त्यसबाट बाहिर निकाल्न आवश्यक भएकाले नै एमाले-कांग्रेस मिल्न बाध्य भएको र यो सरकारले त्यो काम गरिछाड्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले विभिन्न संस्थाहरूले गर्ने रचनात्मक क्रियाकलापले संस्था स्थापित हुने र त्यसैले मुलुकलाई विकासको बाटोमा अघि बढ्न सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
ललितपुर महानगरपालिका वडा नं. २५ भैँसेपाटी स्थित दोस्रो सैँवु आवास क्षेत्रमा गरिएको वृक्षारोपणमा अर्थमन्त्री पौडेलले राजवृक्ष रोप्दै कार्यक्रम शुभारम्भ गर्नुभएको थियो । त्यसअवसरमा १ सय २५ विभिन्न प्रकारका बिरुवा रोपिएको थियो ।
संगठनका ललितपुर जिल्ला अध्यक्ष टेकराज आचार्यको सभापतित्वमा भएको कार्यक्रममा कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ न्यौपाने, उपाध्यक्ष रेवन्त गौतम,महालक्ष्मी नगरपालिकाका नगरप्रमुख हरिगोविंदा श्रेष्ठ, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तुल्सिप्रसाद श्रेष्ठलगायत कर्मचारी संगठनका नेता कार्यकर्ता सहभागी हुनुहुन्थ्यो ।









प्रतिक्रिया