१७ असार २०८३, बुधबार

७६ वर्षीया शान्तिमायाले पाइन् नागरिकता

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, १९ साउन । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीकी शान्तिमाया सुनुवारले ७६ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र पाउनुभएको छ ।

२००५ सालमा जन्मिनुभएकी सुनुवारले सनाखत बसिदिने आफन्त कोही नहुँदा ७६ वर्षसम्म नेपाली नागरिकताको प्रमाणपत्र पाउन सक्नुभएको थिएन ।

नजिकका आफन्त कोही नभएका र जग्गा जमिन पनि केही नभएकी सुनुवारको नागरिकता बनाउन सनाखत बस्ने कोही नभएपछि वडाध्यक्ष रुद्रमणि नेवार र गाउँ कार्यपालिका सदस्य मनिता सुनुवार सनाखत बसेर नागरिकता बनाइदिनुभएको हो । यसअघि पनि सुनुवारको नागरिकता बनाइदिन पटक पटक प्रयास गरेको भए पनि तत्कालीन प्रमुख जिल्ला अधिकारीहरूले नमानेको कारण नागरिकता बनाइदिन नसकेको वडाध्यक्ष नेवारले बताउनुभयो । महिलाको विषयमा सबै कुरा बताएपछि प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले सबै बेहोरा खोलेर ल्याउन र वडाध्यक्षलाई सनाखत बसिदिन भनेपछि नागरिकता बनेको नेवारले बताउनुभयो ।

‘ती महिलाका दिदी र बहिनीहरू रहेछन्, उनीहरु पहिला नै विवाह गरेर बाहिर गएका, बाबु–आमा मरिहाले, दाजु–भाइ कोही नभएका, जग्गा जमिन पनि केही नभएको, कहिले कसकोमा, कहिले कसकोमा बसेर काम गर्दै खाँदै आएकी, अब वृद्ध अवस्था भएपछि समस्या पर्‍यो, नेपाली नागरिकता बनाइदिन पाए कम्तीमा राज्यले दिने ज्येष्ठ नागरिक भत्ता त आउँथ्यो भनेर धेरै प्रयास गरियो, यस अघिका प्रमुख जिल्ला अधिकारीहरूले मान्नु भएन, अहिलेको प्रमुख जिल्ला अधिकारीले समस्या बुझ्नु भयो, बिहीबार उनको नागरिकता बन्यो ।’ नागरिकता बनाउन ती महिलालाई साथमा नै लिएर सदरमुकाम मन्थली आएका नेवारले भन्नुभयो ।

बिहीबार नागरिकता बन्ने बित्तिकै शुक्रबार सामाजिक सुरक्षा भत्ताको लागि उहाँको फाराम भरिदिएको नेवारले बताउनुभयो । ‘यति भएपछि कम्तीमा महिनाको ४ हजार रुपैँया आउँछ, एकजनाको दुःख–सुख जीविका चल्छ ।’ नेवारले भन्नुभयो ।

शान्ति मायासँगै सोही वडाका तीन पुस्ता भित्र परिवारका अन्य सदस्य कोही नभएका ३० वर्षका धनराज सुनुवारले पनि बिहीबार नै नेपाली नागरिकताको प्रमाणपत्र पाउनुभएको छ । सनाखत बस्ने मानिस कोही नभएको कारण उहाँको पनि नेपाली नागरिकता बनेको थिएन ।

उहाँको पनि वडाध्यक्ष नेवार र कार्यपालिका सदस्य मनिता सुनुवार सनाखत बसेर नागरिकता बनाइदिनुभएको छ । ‘धनराजको त बाबुको नामको जग्गाधनी पुर्जा थियो, नागरिकता बनाउन सहज थियो, तर शान्तिमायाको समस्या नै थियो, प्रमुख जिल्ला अधिकारीले समस्या बुझिदिएको कारण नागरिकता बन्यो ।’ उहाँले भन्नुभयो ।