
काठमाडौं, १९ साउन । निर्माणाधीन नेपाली चलचित्र ‘होस्टेल ३’ले छायांकन अगावै रिलिज मिति घोषणा गरेको छ । भदौ २१ गते छायांकनमा जान लागेको यो चलचित्र आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज गर्ने निर्णय गरेको निर्देशक सशान कँडेलले बताउनुभयो ।
यसअघि प्रमुख भूमिकामा ‘कुल ब्वायु अर्थात् पारस बम, रिहान गिरी, पदम तामाङ र सिम्रन पन्त अनुबन्धित भइसक्नुभएको छ । अब यो चलचित्रमा अर्को प्रमुख भूमिकामा नयाँ पात्रको प्रवेश भएको छ, उहाँ हुनुहुन्छ आशिष घिमिरे । आशिष ‘माग्ने बुढा’को नामबाट परिचित प्रसिद्ध कलाकार केदार घिमिरेका छोरा हुनुहुन्छ ।
आशिषले बाल्यकालमा चर्चित हास्य टेलि शृङ्खला ‘मेरी बास्सै’मा आफ्नै पितासँग ‘धुन्धुकारी’ नामक छोराको भूमिकामा अभिनय गर्नुभएको थियो । उहाँ यस शृङ्खलामा निकै चर्चित हुनुहुन्थ्यो ।
‘यस चलचित्रमा केही प्रमुख पात्रहरू रहेका छन्, जसमा सबै जनाको भूमिका बलियो छ । होस्टेलमा बसेर अध्ययन गर्नेहरू मध्ये एक जना पुरुष कलाकारको जरुरी रहेकोमा हामीले खोजेको जस्तो पात्र आशिषमा पायौँ ।’ निर्देशक कँडेलले भन्नुभयो ।
यस्तै, ‘होस्टेल ३’मा अर्की कलाकार हेना नगरकोटी पनि अनुबन्धित हुनुभएको छ । हेना थियटर पृष्ठभूमिबाट चलचित्रमा प्रवेश गर्नुभएको हो । उहाँले एक्टर स्टुडियोमा लामो समय नाटक गर्नुभएको छ भने वेब सिरिजहरू ‘खेल’ र ‘साहु बा’मा पनि अभिनय गर्नुभएको छ । चलचित्र ‘बाइरोड’मासमेत उहाँले अभिनय गर्नुभएको छ ।
इन्टरनेट दुनियाँका चर्चित पारस बम ‘कुल ब्वाय’ नामले परिचित हुनुहुन्छ । रिहान गिरी गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को चौथो संस्करणको टप १० फाइनलिस्ट हुनुहुन्छ ।
पदम तामाङ भारतको सिक्किममा बहुचर्चित कमेडी कलाकार हुनुहुन्छ जो नेपालको पूर्वी क्षेत्रमासमेत अत्यन्तै चर्चित रहनुभएको छ । सिम्रन पन्तले मुम्बई र नेपालमा अभिनय प्रशिक्षण लिनुभएको छ । यि कलाकार बाहेक अन्य कलाकारहरू पनि चलचित्रमा अनुबन्ध भइसकेको र उहाँहरूलाई क्रमशः परिचय गराउने निर्देशकले कँडेलले बताउनुभयो ।
होस्टेलु चलचित्र शृङ्खला स्टारहरू जन्माउनेको रूपमा चिनिन्छ । ‘होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ लगायतका कलाकारहरूले डेब्यू गर्नुभएको थियो ।
त्यस्तै, ‘होस्टेल रिटर्न्स’बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला लगायतका कलाकारहरूले डेब्यू गर्नुभएको थियो । उहाँहरू सबै नेपाली चलचित्रका सफल कलाकारहरू बनिसक्नुभएको छ । वि.सं. २०७० सालमा रिलिज भएको ‘होस्टेल’ र २०७२ मा रिलिज भएको ‘होस्टेल रिटर्न्स’ घरेलु बक्स अफिसमा सफल भएका थिए ।
होस्टेल ३ को लागि माधव शर्माले स्क्रिप्ट लेख्नुभएको छ । यसको कथा भने निर्देशक कँडेलले नै लेख्नुभएको हो । ‘होस्टेल ३’लाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउँदै छ । यसका कार्यकारी निर्माता शङ्कर कोइराला हुनुहुन्छ भने निर्माताहरू कर्ण कार्की र गोविन्द अधिकारी हुनुहुन्छ । सहनिर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा हुनुहुन्छ । लाइन प्रोड्युसर भेषराज गौतम हुनुहुन्छ ।








प्रतिक्रिया