
काठमाडौं, १७ साउन । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा ‘अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समिति’ गठन भएको छ । आगामी साउन २८ गते हुने अन्तर्राष्ट्रिय युवा दिवस मनाउनका लागि मन्त्री चौधरीको अध्यक्षतामा ३७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको हो ।
युवा तथा खेलकुद मन्त्रालयमा बिहीबार आयोजित विभिन्न सरकारी निकाय, सरोकारवाला, संघसंस्था र प्रतिनिधिहरुको उपस्थितिमा भएको बृहत् भेलाबाट राष्ट्रिय युवा परिषद्का अध्यक्षसमेत रहनुभएका मन्त्री चौधरीका नेतृत्वमा समिति गठन भएको परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभएको छ ।
चौधरी नेतृत्वको समितिमा परिषद्का उपाध्यक्ष, मन्त्रालय सम्वद्ध निकायका कार्यकारी प्रमुखहरु, विभिन्न संघीय मन्त्रालयका प्रतिनिधि, संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयका प्रतिनिधि, प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, सबै प्रदेश युवा परिषद्का उपाध्यक्ष, युवा केन्द्रित संघसंस्थाका प्रतिनिधि, परिषद् सदस्य, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद्, युवा स्वरोजगार कोष र नेपाल स्काउटका प्रतिनिधिलगायत रहनेछन् ।
यस्तै, विभिन्न युवा तथा विद्यार्थी संगठनका प्रतिनिधि, परिषद्सम्वद्ध युवा सञ्जालका प्रतिनिधि, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि र परिषद्का सबै जिल्ला युवा समितिका अध्यक्षसमेत समितिमा रहेका छन् ।
१९९८ अगस्ट ८-१२ तारिखमा संयुक्त राष्ट्रसंघको समन्वयमा पोर्चुगलको लिसवनमा १४० देशका युवा मामिला हेर्ने मन्त्रीहरूको सहभागितामा विश्व सम्मेलन भएको थियो । सम्मेलनले आ-आफ्ना देशमा राष्ट्रिय युवा नीति तर्जुमा गर्ने साझा प्रतिवद्धतासहित ८८ बुँदे लिसवन घोषणापत्र जारी गरेको थियो । सन् १९९९ को डिसेम्वर १७ मा वसेको राष्ट्रसंघको ५४औं महासभाले उक्त प्रस्ताव अनुमोदन गरेपछि सन् २००० बाट हरेक वर्षको अगस्ट १२ को दिनलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउन थालिएको थियो ।
अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा साउन २८ गते आयोजनामा हुने मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने परिषद्का कार्यकारी उपाध्यक्ष बस्नेतले बताउनुभयो । त्यसदिन बिहान प्रभातफेरीसमेत गरिने बस्नेतले बताउनुभयो ।
कार्यकारी उपाध्यक्ष बस्नेतले साताव्यापीरुपमा दिवस मनाइने जानकारी दिनुभयो । उहाँकाअनुसार दिवसको अवसरमा युवा नेतृत्व विकास तथा युवा उद्यमशीलतासम्बन्धी अन्तरक्रिया, गोष्ठी, रक्तदान, वृक्षारोपणलगायतका कार्यक्रम गरिनेछ ।









प्रतिक्रिया