
काठमाडौं, १७ साउन । नेपाल सरकारको आर्थिक विधेयक २०८१ बाट आयकर ऐन २०७८ को दफा ८१ क अन्तर्गत व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने नियमको कडा रुपमा पालना गर्न आन्तरिक राजस्व विभागको करदाता शाखाको निर्देशन रहेको छ । राजस्व विभागको निर्देशनअनुसार कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्यूआर कोड तथा अन्य कुनै पनि विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइने छैन ।
राजस्व विभागको यो निर्देशनअनुसार नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आफ्ना प्रयोगकर्ताहरुलाई पनि आफ्नो व्यापार तथा व्यवसायको भुक्तानी आफ्नो व्यक्तिगत इसेवा खातामा जम्मा नगर्न अनुरोध गरेको छ । व्यवसायमा भुक्तानी कारोबारलाई सहजीकरण गर्न मर्चेन्ट बनेर भुक्तानी रकमको निम्ति आफ्नो व्यावसायिक खाताको प्रयोग गर्न इसेवाले सुझाव दिनका साथसाथै यो कार्य सम्भव गर्न हरबखत तयार रहेको प्रतिवद्धता जनाएको छ ।
आफ्नो व्यापार व्यवसायमा भुक्तानी लिन इसेवा मर्चेन्ट खाता खोल्न आग्रह गर्दै कम्पनीले भनेको छ, ‘व्यावसायिक खातामा क्यूआर तथा अन्य कुनै माध्यमबाट रकम भुक्तानी गर्दा कुनै पनि प्रकारको शुल्क लाग्दैन । नेपाल सरकारको यो निर्देशनको कडा रुपमा पालना गरी आफ्नो व्यापार-व्यवसायमा भुक्तानी लिनको लागि आजै इसेवा मर्चेन्ट बन्न इसेवा हार्दिक अपिल गर्दछ ।’
साथै, आर्थिक वर्ष २०८१/८२ को बजेटको पूर्णपाठमा उल्लेखित ‘व्यावसायिक कारोबारको भुक्तानी विद्युतीय माध्यम वा क्यूआर कोडमार्फत गर्दा व्यावसायिक खातामा भुक्तानी गर्नुपर्ने कानुनी व्यवस्था’ बमोजिम व्यावसायिक कारोबार व्यावसायिक क्यूआरमार्फत गर्न प्रोत्साहनका लागि यही अगस्ट १, २०२४ देखि इसेवाको सेन्ड मनी सेवा प्रयोग गर्दा शुल्क लाग्ने व्यहोरासमेत इसेवाले जानकारी गराएको छ । कारोबार दिनमा ३ पटक गरी महिनामा ३० पटक सम्म निःशुल्क रहनेछ, साथै रु. १०० मुनिका सबै सेन्ड मनी कारोबार निःशुल्क रहने छ र यो बाहेकका सबै सेन्ड मनी कारोबारमा प्रति कारोबार रु. १० सेवा शुल्क लागू हुने कम्पनीले जनाएको छ ।















प्रतिक्रिया