
काठमाडौं, १७ साउन। भोलि (शुक्रवार) देशभर रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को काठमाडौंमा भव्य प्रिमियर भएको छ । कमलपोखरीमा रहेको बिग मुभिजमा भएको प्रिमियरमा नेपाली चलचित्र क्षेत्रका व्यक्तित्वहरू, राजनीतिक व्यक्तित्वहरू तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
‘मोदीबेनी’लाई प्रिमियर शोबाट चलचित्र ‘नसोचेको राम्रो’ भएको प्रतिक्रिया प्राप्त भएको छ । प्रिमियरमा नव अभिनेता अमर प्रताप श्रेष्ठ र अभिनेत्री वर्षा शिवाकोटी आकर्षणको केन्द्र बन्नुभयो । वर्षा सारीमा सुन्दर देखिनुभएको थियो भने अमर वर्षासँगको ‘कलर म्याच’ रहेको पोसाकमा सजिनुभएको थियो । अभिनेत्री रेजिना उप्रेती पनि सारीमा सजिएर पुग्नुभएको थियो । नव अभिनेत्री स्नेहा भट्टराई पनि आकर्षक पहिरनमा प्रिमियरमा पुग्नुभएको थियो ।

प्रिमियरमा वर्षा, अमर, रेजिना, स्नेहासँगै चलचित्रका कलाकारहरू प्रवीण खतिवडा, दिलीप केसी, कमल मणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, सरोज लामिछाने, सुब्रत आचार्य, रोजी श्रेष्ठ, पूजन श्रेष्ठलगायतको उपस्थिति थियो । साथै, निर्देशक शङ्कर कोइराला, डिओपी उत्सव दाहाल, सम्पादक भरत रेग्मी, निर्माताहरू दिलीप केसी र हरि श्रेष्ठ सहित क्रियटिभ तथा प्राविधिक टिमको पनि सहभागिता थियो ।
प्रिमियर शोमा चलचित्र हेर्न प्रतिनिधि सभा सदस्य सोविता गौतम, पत्रकार दिल भुषण पाठक, कलाकारहरू रमेश उप्रेती, निर्मल शर्मा, विजय बराल, अञ्जना बराइली, मुकुन भुसाल, कलाकार तथा निर्देशक दीपाश्री निरौला, निर्देशक शोभित बस्नेत, कमेडियन हिमेश पन्तलगायत पुग्नुभएको थियो ।
ट्रेलर सार्वजनिक भएपछि प्रतीक्षारत बनेको ‘मोदीबेनी’ले कसैको मृत्युपश्चात् भएको एउटा अविश्वसनीय कथामा आधारित रहेर प्रेम, बदला र पारिवारिक कथा भनेको छ । प्रतिनिधि सभा सदस्य सोविता गौतमले चलचित्रको प्राविधिक तथा क्रियटिभ काम मन परेको प्रतिक्रिया दिनुभयो ।
‘सोसल कनट्र्याक्ट थ्यौरी’अनुसार नै हाम्रो समाज चल्ने बताउँदै उहाँले सबै कुरा मै हो भन्ने सोचले कस्तो नतिजा दिन सक्छ भन्ने चलचित्रले देखाएको बताउनुभयो । कलाकार हिमेश पन्तले चलचित्र रमाइलो र ट्विस्ट रहेको बताउनुभयो । उहाँले चलचित्रको ‘सस्पेन्स’ भागको चर्चा गर्नुभयो ।
कलाकार विजय बरालले आफूलाई यो चलचित्र ‘सोसल ड्रामा’ रहेको बताउनुभयो । समग्रमा चलचित्र मन परेको बताउँदै सबैलाई यो चलचित्र हेर्न सुझाव दिनुभयो । कलाकार मुकुन भुसालले सुन्दै आएको कथालाई यो चलचित्रमा हेर्न पाएको बताउनुभयो । कलाकार तथा निर्माता निर्मल शर्माले आफूले सोचेको भन्दा पनि राम्रो चलचित्र बनेको प्रतिक्रिया दिनुभयो ।
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले आफूलाई चलचित्रको ट्रेलरले नै प्रिमियरसम्म तानेको र अपेक्षा अनुसार कै चलचित्र बनेको प्रतिक्रिया दिनुभयो ।
चलचित्रका नव अभिनेता अमर प्रताप श्रेष्ठ, अभिनेत्री वर्षा शिवाकोटीसहित सबै कलाकारको काम उत्कृष्ट रहेको निरौलाले प्रतिक्रिया दिनुभयो । उहाँले नेपाली चलचित्रमा धेरै पछि यस प्रकारको हेर्न पाएको र आफूलाई निकै मज्जा आएको जनाउनुभयो ।
अभिनेता रमेश उप्रेतीले हेर्दै आएका चलचित्रहरू भन्दा फरक लागेको बताउनुभयो । निर्देशक शोभित बस्नेतले ‘मोदीबेनी’ साँच्चिकै राम्रो बनेको भन्दै धेरै पछि अभिनेत्री रेजिना उप्रेतीलाई ठूलो पर्दामा देख्दा खुसी लागेको बताउनुभयो । उहाँले निर्देशकको काम पनि मन परेको प्रतिक्रिया दिनुभयो ।
अभिनेत्री अञ्जना बराइलीले नयाँ कलाकारहरूको काम झनै राम्रो रहेको बताउनुभयो । सबै कलाकारले आफ्नो चरित्रलाई न्याय दिएको जनाउँदै आफूले दर्शकको नजरबाट चलचित्र हेरेको बताउनुभयो ।









प्रतिक्रिया