
काठमाडौं, १६ साउन । तेह्रथुम जिल्लाका राजनीतिक दल तथा प्रशासन प्रमुखहरूले सो जिल्लामा १३ वर्षदेखि अधुरा रहेका योजनाहरूको काम सम्पन्न गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।
जिल्लाबाट काठमाडौं आएको प्रतिनिधि मण्डलले बुधबार प्रधानमन्त्रीलाई भेटी ध्यानाकर्षण गराएको हो । म्याङ्लुङ नगरपालिका प्रमुख सञ्जयकुमार तुम्बाहाङफेको संयोजकत्वमा गएको टोलीले प्रधानमन्त्रीलाई जिल्लाको वस्तुस्थिति बारे जानकारी गराएको हो ।
तेह्रथुम जिल्लामा सञ्चालनमा आएका धेरै आयोजनाहरू विगत लामो समयदेखि बजेट अपर्याप्तता, आयोजना कार्यालयहरूको गैरजिम्मेवारीपन र निर्माण व्यवसायीको ढिलासुस्तीका कारण विगत १३ वर्षदेखि अधुरा रहेकाले योजनाहरू सम्पन्न गर्न पर्याप्त बजेट र समन्वय गरिदिन टोलीले प्रधानमन्त्रीलाई अनुरोध गरेको छ ।
प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई मध्यपहाडी लोकमार्ग अन्तर्गत फेदाप सडक खण्डमा १४ किलोमिटर निर्माणको काम बाँकी रहेको जानकारी गराएको छ । त्यस्तै लम्बुघाट मोटरेवल पुल १३ वर्षदेखि अलपत्र रहेको बारे पनि प्रधानमन्त्रीलाई जानकारी गराइएको नगरप्रमुख तुम्बाहाङफेले बताउनुभयो ।
विगत १३ वर्ष देखि अलपत्र रहेको तेह्रथुमको म्याङ्लुङ नगरपालिका र पाँचथरको कुम्मायक गाउँपालिका जोड्ने तमोर नदीको लुम्बुघाट मोटरेवल पक्की पुल यथाशीघ्र निर्माण गर्नका लागि आवश्यक पहल गरिदिन अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले ध्यानकर्षणपत्र बुझेर यस विषयमा सरोकारवाला निकायसँग कुरा गरेपछि जवाफ दिने बताउनुभयो । त्यसको लागि छलफल गर्न प्रधानमन्त्रीले भोलि पुनः बोलाउनु भएको नगरप्रमुख तुम्बाहाङफेले जानकारी दिनुभयो ।








प्रतिक्रिया