२१ असार २०८३, आइतबार

विद्यार्थीलाई पढाउने दुई नाटक ‘एक जोर जुत्ता’ र ‘घरको माया’

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । पाठ्यसामग्री भनेको लेख्ने र पढ्ने मात्र होइन, विद्यार्थीहरूले अरु धेरै माध्यमबाट पाठलाई बुझ्न र सम्झन सक्छन् ।

नाटक पनि एउटा त्यस्तै माध्यम हो। जसबाट विद्यार्थीहरूले राम्रोसँग पाठलाई बुझ्न र सम्झन सक्छन् । माथि उल्लेखित कुरालाई सार्थकता दिन यही साउन ८ गतेबाट कीर्तिपुरको राराहिल मेमोरियल विद्यालयस्थित थियटर मलमा दुई नाटक मञ्चन भइरहेको छ ।

कक्षा ८ र १० को नेपाली किताबको पाठबाट ‘एक जोर जुत्ता’ र ‘घरको माया’ पाठलाई निर्देशक शंकर भण्डारीले नाट्य रूपान्तरण गरेर तयार पारेको नाटकको मंगलबार प्रिमियर गरिएको थियो ।

शताब्दी, राराहिल मेमोरियल विद्यालय, थियटर मल र थियटर सेन्टर फर चिल्ड्रेनको सहकार्यमा निर्माण भएको उक्त नाटकले विद्यार्थीहरूलाई पाठ बुझ्न धेरै नै सहज हुने शताब्दीका सचिव तथा कलाकार शालिक काकाले बताउनुभयो । नाटक उपत्यका बाहिरका विद्यार्थीहरूको लागि मानसिक स्वास्थ्य बारेको कार्यशाला, व्यक्तित्व विकास सम्बन्धी कार्यशाला र अभिनय कला सम्बन्धीको कार्यशाला आयोजना गर्नका लागि सयोगार्थ तयार पारिएको शताब्दीका अध्यक्ष तथा निर्देशक भण्डारीले जानकारी दिनुभयो ।

नाटक हेरेपछि प्रतिक्रिया दिँदै एक जोर जुत्ताका लेखक महेश विक्रम शाहले पाठ पढ्नु भन्दा पनि नाटकमा जीवन्त अभियनका साथ हेर्दा कथालाई विद्यार्थीले सहज रूपमा बुझ्न सक्ने धारणा व्यक्त गर्नुभयो । मनोविज्ञानमा आधारित कथालाई नाट्य रूपान्तरण गर्नु आफैँमा चुनौतिपूर्ण रहेपनि निर्देशकले उत्कृष्ट तवरले कथालाई नाटकमा प्रस्तुत गरेको उहाँको भनाइ छ ।

त्यस्तै नाटक धेरै नै राम्रो बनेको र विद्यार्थीहरूलाई यसले पढ्न, बुझ्न र सम्झन निकै नै सहयोग पुग्ने राराहिल मेमोरियलका प्रधानाध्यापक जगत बहादुर महर्जनले बताउनुभयो । शताब्दीसँगको सहकार्यमा आफूहरूले नाटक प्रस्तुत गर्न पाउँदा खुसी लागेको उहाँले बताउनुभयो । नाटकमा शालिक काका, सुशिल भुसाल, सुधा खनाल, सुजाता भट्ट, ओसिन राई, आँचल पाण्डे र आशिष लामाले अभिनय गर्नुभएको छ । नाटक साउन महिनाभर प्रदर्शन हुनेछ ।