
काठमाडौं, १६ साउन । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले ठूलो संख्यामा रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने महत्वपूर्ण माध्यम घरेलु तथा साना उद्योगलाई प्रवर्द्वन गर्ने सरकारको स्पष्टनीति रहेको बताउनु भएको छ ।
बुधबार नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग अर्थमन्त्रालयमा छलफल गर्दै अर्थमन्त्री पौडेलले घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धनका निम्ति कानुन, नियम, निर्देशिका तथा निर्णयहरुमा ध्यान दिनुपर्ने कुराहरुमा ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘घरेलु तथा साना उद्योगको महत्व भनेकै देशका सबै जिल्ला, सबै पालिकामा यसको विस्तार हुनु हो । ठूलो संख्यामा रोजगारीका रुपमा यो क्षेत्रमा आवद्ध रहेको छ । यसलाई अझै विस्तार गर्न सक्ने सम्भावना छ । यो क्षेत्र स्वरोजगारीका लागि पनि महत्वपूर्ण माध्यम हो । त्यसैले घरेलु तथा साना उद्योगलाई प्रवद्र्धन गर्ने सरकारको स्पष्ट नीति छ । त्यसकारण यो क्षेत्रसँग सम्बन्धित कानुन, नियम, निर्देशिकामा के कस्ता व्यवस्था गर्नुपर्छ त्यसमा सरकारले ध्यान दिन्छ ।’
सरकारको ध्यान सबैलाई उत्साहका साथ आफ्नो पेशा, व्यवसाय र उत्पादनमा लाग्न सक्ने परिस्थिति निर्माण गर्नमा रहेको भन्दै उहाँले विश्वासको जरामा पानी हाल्ने काम सरकारको भएको बताउनुभयो । अहिलेको मुख्य समस्या नै साना उद्योगीको ऋण भएकाले विगतमा सरकारले साना तथा महिला उद्यमीलाई लक्षित गरी ल्याइएको सहुलियतपूर्ण र पुर्नकर्जाको व्यवस्थालाई यथावत कायम राख्न उद्योग महासंका प्रतिनिधिको माग थियो ।








प्रतिक्रिया