२७ जेष्ठ २०८३, बुधबार

ललितपुरका विभिन्न स्थान डुबानमा : २४ जनाको उद्धार, कान्तिलोकपथ ठप्प

6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १६ साउन । गएराति परेको अविरल वर्षाका कारण ललितपुरका विभिन्न स्थान डुबानमा परेका छन् ।

ललितपुर प्रहरी परिसरका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार गएरातिको अविरल वर्षाका कारण ललितपुर महानगरपालिका–९ स्थित नेकपा (एमाले)को कार्यालय र च्यासल फुटबल मैदान जलमग्न भएको छ ।

‘डुबानमा परेका क्षेत्रमा उद्धारका लागि हामीले बुधबार बिहान १ बजेदेखि प्रहरी परिचालन गरेका थियौँ, बाढीको चपेटामा परेका तीन बालक, आठ महिला र १३ पुरूष गरी विभिन्न स्थानबाट २४ जनाको उद्धार भएको छ, अझै उद्धारको काम जारी छ ।’ सूचना अधिकारी सुवेदीले बताउनुभयो ।

ललितपुर महानगरपालिका–२ सानेपा, वडा नं ९ शङ्खमुल, वडा नं १ कुपण्डोल, महालक्ष्मी नगरपालिका–७ चाँगाथलीलगायत क्षेत्रमा बाढी पसेको छ । महालक्ष्मी नगरपालिका–९ लाकुरीभञ्ज्याङको सिस्नेखर्कमा पहिरो खस्दा काभ्रेपलाञ्चोकतर्फ जाने सडक अवरूद्ध भएको छ ।

बाढीका कारण गोदावरी नगरपालिका–१ दमाइटार सातथलीमा खड्कनन्द दाहालले सञ्चालन गरेको फार्मका चार सय कुखुरा मरेका छन् । बाढीकै कारण महालक्ष्मी नगरपालिका–८ लुभुको तल्लो चौतारास्थित पिपलको बोट ढलेर सडक अवरुद्ध भएको छ ।

यसैगरी, पहिरोले बागमती गाउँपालिका–३ पाङ्दुरडोल र टार्कुचेमा पहिरो खस्दा कान्तिलोकमार्ग पूर्ण रूपमा अवरुद्ध भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतले जानकारी दिनुभयो ।