२० असार २०८३, शनिबार

देशमा धेरै दल होइन, बलिया राजनीतिक दल आवश्यक छ : महासचिव पोखरेल

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशमा धेरै पार्टी भन्दा पनि बलिया राजनीतिक पार्टी आवश्यक रहेको बताउनुभएको छ ।

आइतबार नेपाली कांग्रेस उदयपुरका क्षेत्रीय सभापति कृष्ण थापालाई पार्टी केन्द्रीय कार्यालयमा एमालेमा स्वागत गर्नुहुँदै महासचिव पोखरेलले धेरै पार्टी हुँदा कुनै पनि एउटा दललाई बहुमत प्राप्त नहुने र देश अस्थिरतातर्फ जाने बताउनुभयो । देश अगाडि बढाउन, जनतामा पैदा भएको निराशा चिर्न र देशमा नै अवसर सिर्जना गर्न धेरै पार्टी होइन बलिया पार्टी चाहिएको उहाँले बताउनुभयो ।

एमालेलाई बलियो राजनीतिक दलको रूपमा स्थापित गर्न सबै राष्ट्रवादी र प्रगतिशील शक्तिलाई एमालेमा समावेश गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । साना राजनीतिक दलका कार्यकर्ताहरूलाई पार्टीमा समाहित गरी २०८४ को निर्वाचनमा एमालेलाई एक्लै बहुमत प्राप्त गर्ने अवस्थामा पुर्‍याउने गरी लाग्नुपर्ने उहाँको भनाइ छ ।

महासचिव पोखरेलले ६/६ महिनामा मन्त्री फेरिने अवस्थाले देश नबन्ने बताउनुभयो । त्यसैले देशमा अब राजनीतिक ध्रुवीकरण आवश्यक रहेको उहाँको धारणा छ । राजनीतिक स्थायित्वका लागि २०८४ को निर्वाचनमा ठूला राजनीतिक दलबीच प्रतिस्पर्धाको वातावरण बनाउनु पर्ने उहाँले बताउनुभयो । यो भयो भने साना दलले बार्गेनिङ गर्ने र अस्थिरता मच्चाउने प्रवृत्ति अन्त्य हुने महासचिव पोखरेलको भनाई छ ।