
चितवन, १३ साउन । चितवनको सिमलतालमा त्रिशूलीमा खसेको दुई वटा बस र यात्रुको अवस्था अझै अज्ञात रहेको छ ।
बस बेपत्ता भएको आज १७ दिन पुगेको छ । नेपाली र भारतीय टोलीले गरेका खोजीका सबै प्रयास असफल भएसँगै बस खोजीका लागि आएको भारतीय टोली आज फर्किँदै छ ।
नेपाली टोलीले अब कसरी खोजीकार्य अगाडी बढाउने भन्ने विषयमा छलफल गर्ने तयारी गरेको छ ।
यसअघि भारतीय उद्दार टोलीले घटनास्थलमा शनिबार दिउँसो बस खोजी गर्नेक्रममा १९ किलोको चुम्बक नै पानीले बगाएको थियो । भारतीय टोलीले शनिबार १९ केजी र १४ केजीको दुई वटा चुम्बक प्रयोग गरेर खोजी गरेको थियो ।
यसैबीच, शनिबार साँझ चितवनको केराबारीमा नदीको बीचमा रातो बस जस्तो बस्तु देखिएको स्थानीयले बताएपछि सुरक्षाकर्मीहरुले भने त्यो बस्तु बस नभएको बताएका छन् ।
असार २८ गते लेदोसहितको पहिरोले बगाएका दुई बस अहिलेसम्म भेटिएका छैनन् । बसमा रहेका ६२ यात्रु मध्ये अहिलेसम्म २४ जनाको शव फेला परेको छ भने अझै ३८ जनाको अवस्था अज्ञात रहेको छ ।








प्रतिक्रिया