२ असार २०८३, मंगलबार

सञ्चारमन्त्री गुरुङद्वारा बगुम पहिरोको निरीक्षण

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, १३ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बगुम पहिरोको निरीक्षण गर्नुभएको छ । गत असार ११ गते गएको क्व्होलासोथर गाउँपालिका–३ बगुम पहिरोको शनिबार साँझ मन्त्री गुरुङलगायतको टोलीले निरीक्षण गरेको हो ।

पहिरोको निरीक्षणपछि सञ्चारमन्त्री गुरुङले पहिरोले पूर्ण क्षति तथा विस्तापित भएका परिवारका घर सरकारले निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकार बाढीपहिरोलगायत प्राकृतिक विपद्मा परेका नागरिकको रक्षाका लागि सधैँ तयार रहेको उहाँको भनाइ छ । सञ्चारमन्त्री गुरुङको गृहपालिका रहेको यस स्थानमा गत असार ११ गते राति आएको पहिरोले तीन घर पुरिँदा चार जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए ।

सञ्चारमन्त्री गुरुङले आफूलाई लमजुङे जनताले जिताएर मन्त्री बनाएकाले यहाँका जनताको शिर उच्च बनाउने गरी आफूले काम गर्नेसमेत बताउनुभयो । ‘यहाँहरूले जिताएकाले म मन्त्री भएको छु, यसर्थ लमजुङको विकास तथा सुखदुःखमा सधैँ साथमा रहँदै विकासका काम गर्नु मेरो दायित्व हो । त्यसका लागि म सधैँ लागिरहने छु ।’ उहाँले भन्नुभयो ।

पहिरोपीडितले पनि सञ्चारमन्त्री गुरुङले आफूहरूका समस्या समाधानका लागि सहयोग गर्ने अपेक्षा व्यक्त गरेका थिए ।

सञ्चारमन्त्री गुरुङसहित संविधानसभा सदस्य तथा एमाले केन्द्रीय सदस्य जमिन्द्रमान घले, क्व्होलासोथर गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ र सोही वडाका वडाध्यक्ष आसवीर गुरुङलगायतले पहिलोस्थलको निरीक्षण गर्नुभएको थियो।

मन्त्री गुरुङलाई वडाध्यक्ष गुरुङले गुरुङ समुदायको परम्परागत बख्खु ओढाएर स्वागत तथा सम्मान गर्नुभएको थियो । मन्त्री गुरुङलाई वडामा टेलिकमको नेटवर्क नटिप्दा भएको समस्या समाधान, पहिरोपीडितहरूको तत्काल सहयोगलगायत विषय सम्बोधनका लागि ज्ञापनपत्र बुझाइएको थियो ।