२७ असार २०८३, शनिबार

कांग्रेस–एमाले मिल्नुको विकल्प थिएन : सञ्चारमन्त्री गुरुङ

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, १२ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले स्थिर सरकारका लागि कांग्रेस–एमाले एमाले मिलेको बताउनुभएको छ ।

एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनलाई शनिबार गृहजिल्ला लमजुङ सदरमुकाम बेंसीसहरमा सम्बोधन गर्नुहुँदै मन्त्री गुरुङले स्थिर सरकारका लागि कांग्रेस–एमाले मिलेको बताउनुभएको हो ।

‘अहिलेको परिस्थिति अवस्थाले कांग्रेस–एमाले मिल्नुको विकल्प थिएन’ उहाँले भन्नुभयो, ‘कहिले पाहिलो पार्टी र तेस्रो पार्टी मिलेर सरकार बनाउने, कहिले दोस्रो पार्टी र तेस्रो पार्टी मिलेर सरकार बनाउने, यस्तै–यस्तैले सरकार स्थिर भएन । जनतामा निराशा छायो । त्यसैले हामी मिलेका हौँ ।’

एमाले उपमहासचिवसमेत रहनुभएका मन्त्री गुरुङले देशमा जब ठूलो राष्ट्रिय संकट आउँछ त्यसबेला कांग्रेस–एमाले मिलेर अघि बढेको सुनाउनुभयो । ‘झट्ट हेर्दा कांग्रेस–एमालेको गठबन्धन अप्राकृतिक जस्तो देखिन्छ । तर, इतिहास साक्षी छ, नेपालमा जब ठूलो राष्ट्रिय संकट आउँछ, त्यसका लागि कांग्रेस एमाले मिलेकै छ । यो कुनै नौलो कुरा होइन ।’ उहाँले भन्नुभयो ।

२०४६ सालको पञ्चायतविरोधी अभियान, २०६२–०६३ को जनआन्दोलन, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र निरंकुश राजतन्द फाल्न, संविधान सभा निर्माण गरी संविधान बनाउन एमाले–कांग्रेस मिलेको उहाँले उल्लेख गर्नुभयो । ‘राष्ट्रका लागि निश्चित उद्देश्य लिएर महान उपलब्धि हासिल गर्न कांग्रेस एमाले मिलेकै छ । यस्ता महत्वपूर्ण घटनामा मिलेको यो चौँथो पटक हो, अन्य घटनाहरुमा पनि मिलेका छौँ ।’ उहाँले भन्नुभयो ।

कांग्रेस–कम्युनिष्ट मिल्दा महान उपलब्धिहरु हासिल हुने उहाँले बताउनुभयो । जनतामाझ स्थायी सरकारको विश्वास दिलाउन कांग्रेस–एमाले मिलेको उल्लेख गर्नुहुँदै उहाँले मुलुकमा देखा परेको समस्याको समाधान गर्ने बताउनुभयो ।

मन्त्री गुरुङले कांग्रेस–एमाले मिलेर सरकार बनेपछि यो सरकार स्थिर हुन्छ भन्नेमा जनतामा आशा पलाएकोसमेत चर्चा गर्नुभयो । उहाँले दुइतिहाई सुविधाजनक मतमा रहेको वर्तमान सरकारमा विश्वासको मत बढ्दै जाने र स्थिर सरकार रहनमा थप मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य एवं युवा संघ इन्चार्ज महेश बस्नेत, केन्द्रीय सदस्य जमीन्द्रमान घले, युवा संघ पूर्वअध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य राजीव पहारी, राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेलगायतले बोल्नुभएको थियो ।

राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटिका संयोजक पिताम्बर खनालकाअनुसार अधिवेशनमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका आयोजक कमिटीसहित २ सय ५४ जना प्रतिनिधि छनौट भएर आएका छन् । अधिवेशन नयाँ नेतृत्व चयन गर्दै आइतबार सकिने बताइएको छ ।