
काठमाडौं, १२ साउन । नेपालका लागि चिनियाँ राजदूत चन सोङले चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो केन्द्रीय समितिको बैठक सम्पन्न भएर यसले विश्वभर सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभएको छ ।
राजदूत सोङले जुलाई १५ देखि १८ सम्म बेइजिङमा सम्पन्न भएको बैठकले चीनमा विकास तथा लगानीको लागि स्थायित्व दिएको बताउनुभएको हो ।
उहाँले पार्टीको तेस्रो प्लेनरी बैठकमा चिनियाँ राष्ट्रपति सी चिनफिङले रणनीतिक योजनाहरूलाई कार्यमा रूपान्तरण गर्न र चिनियाँ आधुनिकीकरणको दृष्टिकोणलाई वास्तविकतामा परिणत गर्न गर्नुपर्ने सुधारलाई व्यापक रूपमा अझ गहिरो बनाउन र सबै क्षेत्रहरूमा प्रणाली र संयन्त्रहरू सुधार गर्न काम गरिरहनुपर्छ भन्नुभएको उल्लेख गर्नुभयो ।
राजदूत सोङले सन् २०२४ को प्रथम अर्धवार्षिकमा चीनको कुल गार्हस्थ उत्पादन ५ प्रतिशत बढेको तथा चीनको आर्थिक वृद्धिले उच्च गुणस्तरको विकासमा सहयोग पुग्ने बताउनुभयो । उहाँले चीनको आर्थिक प्रगतिको बाटो विकासोन्मुख देशहरुमा वस्तु, सेवा, पुँजी तथा श्रम बजारको रुपमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । त्यसबाट नेपाललाई पनि फाइदा पुग्ने उहाँको भनाइ छ ।








प्रतिक्रिया