२९ जेष्ठ २०८३, शुक्रबार

पत्रकार किशोर श्रेष्ठलाई बमले उडाउने धम्की

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई ज्यान मार्ने धम्की आएको छ ।

जनआस्था साप्ताहिकका प्रधानसम्पादक समेत रहनु भएका श्रेष्ठलाई आफू नेकपा विप्लवको विद्यार्थी संगठनको सचिवालय सचिव बताउने ‘कपिल सी’ भन्ने व्यक्तिले टेलिफोनमार्फत ज्यान मार्ने धम्की दिएका हुन् । जनआस्थाले आफ्नो अनलाइनमा एउटा अडियो सार्वजनिक गरेको छ, जसमा प्रधान सम्पादक श्रेष्ठ र एक युवकको संवाद सुन्न सकिन्छ ।

ती युवकले आफूलाई विप्लवनिकट विद्यार्थी संगठनको बुद्धनगरस्थित कार्यालयबाट बोलेको बताएका छन् । युवकले श्रेष्ठमाथि एक महिलाको चरित्रहत्या गरेको विषयमा आफ्नो कार्यालयमा उजुरी परेको भन्दै छलफलका लागि आउन आग्रह गर्नुहुन्छ । श्रेष्ठले उजुरीको विषयमा जिज्ञासा राखेपछि युवकले धम्कीको भाषा प्रयोग गर्न थाल्छन् ।

उनी भन्छन्, ‘तपाईं विप्लव र उहाँको कार्यकर्ताका विषयमा जानकार नै हुनुहुन्छ । हामीसँग ३८/३९ वटा मुद्दाहरु छँदैछन् । एउटा मुद्दा नथपियोस् भनेर हामी सचेत छौं । बुद्धनगर कार्यालयमा हामीले ‘ लाई पनि बोलाएका छौं । तपाईंको टाइम कतिबेला हुन्छ भन्नुपर्यो ।’

श्रेष्ठले भोलि पत्रिका निकाल्नुपर्ने भएकाले आज भेट्न सम्भव नरहेको बताउनुहुन्छ । श्रेष्ठले बरू आफ्नै कार्यालयमा आउन आग्रह गर्नुहुन्छ । युवकले जवाफ दिन्छन्, ‘तपाईं अपराधीको उसमा हामी किन आउने ?’

ठाडै ‘अपराधी’ भने पछि श्रेष्ठ पनि रिसाउनुहुन्छ । त्यसपछि युवकले मुख छोड्न थाल्छन् ।

‘ए किशोर श्रेष्ठ, तँ ठूलो कुरा नगर । तँ मुलालाई हामीले राम्रोसँग चिनेका छौं । तेरो कार्यालयमा हामी आउँछौं ।’

‘तिमीले भोलि पश्चाताप गर्नु नपरोस् बाबु, यति मैले भनेको छु’, श्रेष्ठले चेतावनी दिनुहुन्छ । ‘तिम्रो टाउकोमा बम पड्काइदिन सक्छौं’, युवकले भन्छन्, ‘अहिले मेरो अगाडि भएको भए दुई वटा दाँत झारिसक्थेँ, फोनबाट हात हाल्न नमिल्ने भएकाले जोगिएको छौ ।’

यसैबीच नेपाल पत्रकार महासंघले घटनाप्रति ध्यानाकर्षण भएको बताएको छ । महासंघका महासचिव रोशन पुरीले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै पत्रकारलाई आतंकित, त्रसित र हतोत्साहित बनाउने कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गर्नुभएको हो ।

विज्ञप्तिमा जनआस्था साप्ताहिकका प्रधानसम्पादक समेत रहेका श्रेष्ठलाई आफू नेकपा विप्लवको विद्यार्थी संगठनको सचिवालय सचिव बताउने ‘कपिल सी’ भन्ने व्यक्तिले मोबाइलबाट फोन गरी अश्लील गालीगलौज गर्दै भौतिक कारबाहीको धम्की दिएको उल्लेख छ।

‘साउन ८ गते मंगलबार बिहान १०ः०० बजेदेखि मोबाइल नम्बरबाट फोन गरी निज व्यक्तिले अत्यन्त स्तरहीन शब्द प्रयोग गरी प्रधानसम्पादक श्रेष्ठलाई धम्कीपूर्ण शैलीमा गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको श्रेष्ठले महासंघलाई जानकारी गराउनुभएको छ,’ विज्ञप्तिमा भनिएको छ,‘धम्कीका क्रममा निज व्यक्तिले प्रधानसम्पादक श्रेष्ठ र उहाँकी श्रीमतीलाई जहाँ भेटे त्यहीं मारिदिने बम हानेर घर उडाइदिने जस्ता धम्की दिएका थिए।’

सोही दिन दिउँसो सानेपाको धोबीघाटस्थित जनआस्थाको कार्यालयमा हतियारसहित आएका एक व्यक्तिले ‘एक घण्टाभित्र हाजिर हुन आउने, नआए बम हानेर कार्यालय उडाइदिने’ भनेर धम्क्याउँदै पत्रिका प्रकाशन कार्यमा समेत अवरोध गरेको विज्ञप्तिमा उल्लेख छ।

‘समाचारसँग सम्बन्धित विषयमा चित्त नबुझेका कुरा भए वार्ता र सम्वादका माध्यम वा कानुनी उपचारको बाटो अवलम्बन गर्नुपर्नेमा त्यसो नगरी यस किसिमको अपराधिक तवरले भौतिक कारबाहीको धम्की दिने, बम हानिदिने र गालीगलौज गर्ने जस्ता हर्कत हुनु समग्र पत्रकारिता क्षेत्रमाथिकै प्रहार हो,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।