
काठमाडौं, १० साउन । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे चीनको पाँच दिने औपचारिक भ्रमण सकेर बिहीबार स्वदेश फर्किनुभएको छ । चीनको युनान प्रान्तको कुन्मिङ सहरमा सम्पन्न ८औं चीन–दक्षिण एसिया प्रदर्शनीमा सहभागी भएर उहाँ स्वदेश फर्किनुभएको हो ।
उपाध्यक्ष घिमिरे ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साउन ५ गते चीन जानुभएको थियो । उपाध्यक्ष घिमिरेसँगै प्रतिनिधीमण्डलका सदस्यहरु राष्ट्रिय सभाका सदस्यहरु मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल र दुर्गाकुमारी गुरुङ, संघीय संसद सचिवालयका उपसचिव विकास बोहरा र उपाध्यक्षका स्वकीय सचिव प्रेमबहादुर सिंह पनि स्वदेश फर्किनुभएको छ ।
उपाध्यक्ष घिमिरेले जुलाई २३ मा भएको प्रर्दशनीको उद्घाटन समारोहमा सम्बोधन गर्नुभएको थियो । सभामा सम्बोधन गर्दै उपाध्यक्ष घिमिरेले नेपाल एक चीन नीतिप्रति सँधै प्रतिबद्ध रहेको बताउनुभएको थियो । नेपालमा पञ्चशिलको सिद्धान्तमा आधारित विदेश नीति सञ्चालनमा रही आएको तथा चीन र नेपालबीच दौत्य सम्बन्ध कायम भए पश्चात चीन नेपाल सम्बन्ध नयाँ उचाईमा पुगेको पनि बताउनुभएको थियो ।
भ्रमणका क्रममा उपाध्यक्ष घिमिरेले चीनको जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष डिङ झोङ्गली, युनान प्रान्तका गर्भनर वाङ यूलगायतका चीनियाँ उच्च अधिकारीहरुसँग भेटवार्ता गर्नुभएको थियो ।
भेटका अवसरमा चीनियाँ अधिकारीहरुले सहयोगको क्षेत्रलाई थप फराकिलो बनाउँदै जाने, नेपाली विद्यार्थीका लागि थप छात्रबृत्तिको उपलब्ध गराउने तथा नेपालको कृषि क्षेत्रमा प्रबिधी हस्तान्तरणलाई बढाउने प्रतिबद्धता जनाएका थिए ।








प्रतिक्रिया