
काठमाडौं, १० साउन । नेकपा एमालेले त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।
एमाले स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनाको छानबिनको माग गर्नुभएको हो । उहाँले अकल्पनीय एवम् भयावह दुर्घटनामा परी ज्यान गुमाएकाप्रति पार्टीको तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।
उहाँले दुर्घटनाको निष्पक्ष छानबिन गर्न, दोषीउपर कारबाही, घाइतेको उपचार, मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो भने चालक मनिषरत्न शाक्य घाइते हुनुभएको छ । घाइते चालकको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
सरकारले यस घटनाको छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । विमानहरूको अनिवार्य प्राविधिक परीक्षण गर्न मन्त्रिपरिषद् बैठकले निर्देशन दिएको छ ।








प्रतिक्रिया