
काठमाडौं, १० साउन । सौर्य एयरलाइन्सको दुर्घटनामा परी निधन भएकाको शव परीक्षण सुरू भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण सुरू भएको हो ।
अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालप्रसाद चौधरीले चार वटा शव परीक्षण गरेर शवको पहिचानको काम सुरू गरिएको जानकारी दिनुभयो । उहाँकानुसार एक जनाको शव पत्ता लगाउनका लागि चार घण्टा लाग्नेछ । अस्पतालमा जनशक्ति कम भएकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर अस्पताल, धुलिखेल अस्पताल, पोखराबाट समेत चिकित्सक बोलाइएको र उहाँहरू भोलिसम्म आइपुग्ने अस्पतालका डा चौधरीले बताउनुभयो ।
मृतकका आफन्तले उपलब्ध गराएको विवरणअनुसार म्याचिङ गरेर सबै शवको पहिचान ७२ घण्टाभित्र गर्ने उहाँले बताउनुभयो । ‘आफन्तजनले दिएको विवरणअनुसार शवलाई म्याच गराएर पहिचान प्रक्रिया पूरा गर्नेछौँ । सकेसम्म आवश्यक काम चाँडो गरेर शव दिने हाम्रो कोशिस छ ।’ डा. चौधरीले भन्नुभयो, ‘शव धेरै नै जलेको हुनाले पहिचान गर्न समय लाग्नेछ ।’
अस्पतालमा सुरूमा परीक्षण गरिरहेका चार वटा शव सय प्रतिशत जलेको उहाँको भनाइ छ । शव पहिचानका लागि फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया र डिएनए परीक्षण विधि अपनाइन्छ । उहाँले फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया विधिबाट शव पहिचान नभए अन्तिममा डिएनए विधिबाट शव पहिचान गर्ने बताउनुभयो । डिएनए विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने उहाँको भनाइ छ ।
शव परीक्षणगरी पहिचान गर्नका लागि २५ जना चिकित्सकसहितको प्राविधिक टोली खटेको छ । बुधबार बिहान काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको थियो ।








प्रतिक्रिया