
काठमाडौं, ९ साउन । त्रिभुवन विमानस्थल परिसरमै भएको सौर्य एयरको विमान दुर्घटनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिफिङ लिनु भएको छ ।
दुर्घटनास्थलको अवलोकनपछि प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमास्थित नागरिक उड्ययन प्राधिकरणको उद्दार समन्वय केन्द्रमा ब्रिफिङ लिनु भएको हो । प्रधानमन्त्री ओलीले घटना ज्यादै दुःखद, हृदय विदारक र अकल्पनीय भएको बताउनुभयो ।
उहाँले निधन भएकाहरूमा हार्दिक श्रद्धाञ्जली र परिवारमा समवेदना पनि व्यक्त गर्नुभएको छ । घाइते क्याप्टेनको स्वास्थ लाभको कामना पनि प्रधानमन्त्रीले गर्नुभयो ।
यसबारे गर्नुपर्ने थप कामबारे सरकारले आवश्यक निर्णय लिने बताउँदै प्रधानमन्त्रीले आगामी दिनमा यस्ता घटना नहोस् भन्नेतर्फ सजग हुन सम्बन्धित निकाय र पक्षलाई निर्देशन दिनुभयो ।
घटना कसरी भयो ? मानवीय वा प्राविधिक कमजोरी भयो ? भन्ने बुझ्न उहाँले आग्रह गर्नुभयो। ब्रिफिङमा गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री बद्री पाण्डे, निमित्त मुख्यसचिव लगायत पनि सहभागी हुनुहुन्थ्यो ।









प्रतिक्रिया