१८ असार २०८३, बिहिबार

लुम्बिनीमा ८ बिनाविभागीय मन्त्रीहरुले लिए शपथ

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ९ साउन । लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले–कांग्रेसका ८ बिनाविभागीय मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले उहाँहरुलाई शपथ गराउनुभएको हो । १२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसबाट ४ मन्त्री बनेका छन् ।

एमालेबाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङका सीता शर्मा मन्त्री बन्नुभएको छ भने कांग्रेसबाट ४ मन्त्रीले शपथ लिएका छन् । कांग्रेसबाट गुल्मीका धनेन्द्र कार्की, प्यूठानका रोज राणा, दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मी मन्त्री बन्नुभएको हो ।

कांग्रेसले प्रमुख सचेतक रहनुभएका जन्मजय तिमिल्सिना मन्त्री बन्ने बताइएको भएपनि विवाद भएपछि अन्तिम समयमा नाम काटिएको बताइएको छ ।

लुम्बिनीमा लोसपा, नाउपा, जनमत, जसपा, जसपा नेपाल, राप्रपाले सरकारलाई समर्थन गर्ने मौखिक सहमति जनाएका छन् । खाली रहेका २ मन्त्रालय उनीहरुलाई छुट्टयाइएको बताइएको छ ।

८७ सदस्यीय प्रदेश सभामा १० सांसद रहेको माओवादी केन्द्र तथा एकएक सांसद रहेका एकीकृत समाजवादी, जनमोर्चा र स्वतन्त्र मात्र विपक्षमा रहने देखिएको छ ।