काठमाडौं, ९ साउन । अन्यायपूर्वक अवकाशमा पठाइएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेलले न्यायका लागि सर्वोच्च अदालतको ढोका ढकढक्याएका छन् । अवकाशको सम्मुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवाका लागि सिफारिस भए पनि तत्कालीन गृहमन्त्री रवि लामिछानेले बढुवा प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेस नगर्दा आफूमाथि अन्याय भएको भन्दै न्यायको माग राखी उनी सर्वोच्च पुगेका हुन् आजको नागरिक दैनिकमा खबर छ ।
उनले बढुवा हुने आफ्नो हकअधिकार खोसिएको बताएका छन् ।
एआइजी बढुवाका लागि सिफारिस भए पनि नियुक्ति नपाएपछि पोखरेलले डिआइजीबाटै अवकाश पाएका थिए । पोखरेलले यसअघि दिएको रिट सर्वोच्च अदालतले नै दरपिठ गरे पनि मंगलबार भने दर्ताका लागि आदेश गरेको छ ।
न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले यसअघि सर्वोच्च प्रशासनबाट भएको दरपिठ आदेशलाई बदर गर्दै निवेदन दर्ता गर्न आदेश गरेको हो । यो आदेशसँगै डिआइजी पोखरेलले एआइजीमा बढुवा हुन माग गरेको विषयमा सुनुवाइ हुनेछ ।
‘रिट दर्ता गर्न आदेश आएको छ। बुधबार दर्ता गराउनेछु,’ हाल अवकाशप्राप्त डिआइजी पोखरेलले बताए । आफ्नो नाम सिफारिस भएको तर नियुक्ति नदिने कार्य गैरकानुनी भएको र आफूमाथि अन्याय भएको भन्दै उनले रिट दायर गर्न जाँदा सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाएर रिट पेस गरेका थिए । सर्वोच्च प्रशासनले अवकाश भइसकेकाले रिट हालिराख्नुपर्ने अवस्था नभएको भन्दै फिर्ता गरेका थिए । तर पोखरेलले दरपिठविरुद्ध अर्को निवेदन दिएका थिए । पोखरेलले एआइजी बढुवा सिफारिस भएर पनि नियुक्ति नपाएको भन्दै साउन ६ गते सर्वोच्च अदालतमा रिट दर्ता गर्न पुगेका थिए ।