५ असार २०८३, शुक्रबार

साउदी लिग जाने चर्चामा यी प्रिमियर लिगका स्टार खेलाडी

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । क्रिस्टियानो रोनाल्डो र नेइमार जस्ता सुपरस्टार खेलाडी साउदी प्रो लिगमा गएपछि अहिले साउदी फुटबल ठूला खेलाडीको लक्ष्य हुन थालेको छ । अहिले खेलाडीको ट्रान्सफर विन्डो खुली रहेको बेला प्रिमियर लिगका ठूला खेलाडीले साउदी लिग जाने तयारी गरेका छन् ।

यस रिपोर्टमा साउदी प्रो लिगमा जानसक्ने प्रिमियर लिगमा खेलिरहेका हाइप्रोफाइल खेलाडीको बारेमा चर्चा गर्दै छौँ ।

यस सूचीमा सबैभन्दा अगाडि आर्सनलबाट खेलिरहेका ब्राजिलका गाब्रियल जिससको नाम रहेको छ । आर्सनलमा पर्याप्त खेल समय नपाएका कारण असन्तुष्ट रहेका जिसस साउदी क्लब अल अहलीमा जानसक्ने बताइएको छ । हाल ब्राजिलको टिममासमेत नपरेका जिसस उनको पूर्व क्लब म्यानचेस्टर सिटीका सहकर्मी रियाद महरेजसँग पुनर्मिलन हुनसक्ने बताइएको छ ।

त्यस्तै, ब्राजिलकै अर्को खेलाडी रिचार्लिसनले पनि साउदी लिग जान सक्ने बताइएको छ । हाल टोटनह्यामबाट खेलिरहेका रिचार्लिसनलाई अल अहली क्लबले नै चासो देखाएको छ । यसअघि उनी अल हिलाल जाने चर्चा रहेको थियो ।

साउदी जाने ठूलो खेलाडीको सूचीमा बेल्जियमका प्लेमेकर केभिन डी ब्रुनेको नाम अगाडि आएको छ । हाल म्यानचेस्टर सिटीबाट खेलिरहेका ब्रुनेले सिटी छोड्ने लगभग निश्चित रहेको बताइएको छ । मिडिया रिपोर्टकाअनुसार ब्रुनेले साउदी क्लब अल इत्तिहादसँग मौखिक सहमति गरिसकेको बताइएको छ । ब्रुने आफैले पनि केही समय अघि युरोपमा दश वर्ष खेल्दा कमाएको पैसा साउदीमा एक वर्षमा कमाउन सक्ने भन्दै आफू नजिकका सबैले साउदी जान भनिरहेको बताएका थिए ।

त्यस्तै, ब्राजिलियन गोलकिपर एडरसन पनि साउदी क्लब जाने लाइनमा रहेका छन् । हाल म्यानचेस्टर सिटीबाट खेलिरहेका एडरसनलाई साउदी क्लब अल इत्तिहादले अफर गरेको बताइएको छ ।

त्यसैगरी, हाल लिभरपुलबाट खेलिरहेका ब्राजिलका अर्का गोलकिपर एलिसन बेकरलाई साउदी क्लब अल नासरले अफर गरेको बताइएको छ । उनको लिभरपुलका पूर्वसहकर्मी साडियो मानेसँग अल नासरमा पुनर्मिलन हुनसक्ने बताइएको छ ।

त्यस्तै, लिभरपुलका स्टार खेलाडी मोहमद सलाहको नाम पनि साउदी लिग जानसक्ने खेलाडीको सूचीमा रहेको छ । सलाहलाई साउदी क्लब अल इत्तिहादले १५० मिलियन युरोको अफर गरेको बताइएको थियो । उनको लिभरपुलमा अब एक वर्ष सम्झौता रहेको छ । यस अवस्थामा उनी लिभरपुलमा खेलिरहने वा क्लब छोड्ने भन्ने विषय अझै स्पष्ट रहेको छैन । तर उनलाई साउदी क्लबले भित्र्याउने पहल भने गरिरहेका छन् ।

त्यस्तै, हाल म्यानचेस्टर युनाइटेडमा खेलिरहेका ब्राजिलियन खेलाडी क्यासेमिरोलाई भित्र्याउन अल नासर र अल इत्तिहादले इच्छा देखाएका छन् । म्यानचेस्टर युनाइटेडले पनि क्यासेमिरोलाई बेच्ने बताइएको छ । युनाइटेडले क्यासेमिरोलाई ३० मिलियन युरोमा बेच्ने बताइएको छ ।

त्यसैगरी, ब्राजिलियन मिडफिल्डर लुकास पाक्वेटा पनि अल नासरमा जाने सक्ने चर्चा चलेको छ । चेल्सीबाट खेलिरहेका स्पेनका गोलकिपर केपा आरिजाबालागा पनि साउदी क्लबको निशानामा रहेका छन् । उनलाई अल इत्तिहादले चासो देखाएको मिडिया रिपोर्टमा बताइएको छ ।