१६ कार्तिक २०८३, सोमबार

विपद्का घटना बढेपछि मुख्यमन्त्री कँडेलद्वारा प्रदेशका १० वटै जिल्लाका सुरक्षासँग छलफल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, ७ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशका १० वटै जिल्लाका सुरक्षा प्रमुखसँग भर्चुअल बैठक गर्नु भएको छ ।
बर्षातको कारण दैनिक विपद्का घटना बढ्न थालेपछि मुख्यमन्त्री कँडेलले जिल्लाको वस्तुस्थिति जानकारी लिन र विपद् न्यूनीकरणमा प्रदेश सरकारको तर्फबाट गर्नुपर्ने कामहरुको बारेमा आवश्यक परामर्श लिन बैठकको आयोजना गर्नु भएको हो ।

बैठकलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री कँडेलले विपद् जोखिमको हिसाबले सबैभन्दा बढी जोखिमयुक्त प्रदेश भएकोले विपद् न्यूनीकरणमा अन्यत्रभन्दा कर्णाली प्रदेशमा धेरै मेहनत र लगानी गर्नुपर्ने बताउनुभएको हो । भौगोलिक विकटता र श्रोत साधनको अभावका कारण पनि जिल्ला तहका सुरक्षा निकायहरुले उत्कृट कार्य गरिरहेको भन्दै उहाँले सबैलाई धन्यवाद समेत दिनुभयो ।

तीन तहका सरकारका आफ्नै सीमा र दायित्व भएपनि विपद्का घटनाका कारण त्यसले तल्लो तह प्रभावित हुने भएकोले विपद व्यवस्थापनमा स्थानीय तहलाई बढी परिचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । विकासका निम्तिएका कतिपय विनासका कारण पनि कर्णाली प्रदेशमा विपद् जोखिम बढदै गएकोमा मुख्यमन्त्री कँडेलले चिन्ता व्यक्त गर्दे अब विकासको मोडेलको बारेमा पनि जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सरोकारवालाबीच छलफल चलाउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘जिल्लामा कस्तो खालको विकासको मोडेल आवश्यकता हो । तपाईँहरुले पनि आफनो मातहतका कार्यालयहरुबीच छलफल चलाउन मैले आवश्यकता ठानेको छु ।’ भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका धेरै जसो लाभग्राहीले अझै पनि दोश्रो किस्ताको रकम पाउन नसकेको विषयप्रति चिन्ता व्यक्त गर्दे मुख्यमन्त्री कँडेलले त्यसतर्फ आफनो ध्यान जाने बताउनुभयो ।

जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबाट आएको सुझावहरुप्रति संकेत गर्दे मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले विपद् व्यवस्थापनका विषयमा आफ्नो तर्फबाट समन्वय गरिरहेको र सरकारको तर्फवाट दायित्व वहन गर्नुपर्ने विषयहरुमा आफना संरचनाहरुलाई तैयारी अवस्थामा रहन निर्देशन दिएको स्पष्छ पार्नुभयो ।

बैठकमा प्रदेशका चार वटै सुरक्षा निकायहरु नेपाली सेना उत्तर पश्चिम पृतनापति अनुपजंग थापा, नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख अर्जुनबहादुर चन्द शसस्त्र प्रहरी बल महेश्वरी वाहिनीका बाहिनीपति, सशस्त्र प्रहरी नायब महानिरीक्षक दुर्गाप्रसाद भट्टराई र राष्टिय अनुसन्धान कार्यालयका कर्णाली प्रदेश प्रमुख माधव तिमिल्सेनाले मातहतका कार्यालय प्रमुखहरुलाई आवश्यक निर्देशन दिनुभएको थियो ।