१६ असार २०८३, मंगलबार

एमालेले रामेछापमा मनायो पुष्पलालको ४६औं स्मृति दिवस (तस्वीरहरु)

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठसहित तीनलालको भूमि रामेछापमा उहाँहरूप्रति श्रद्धा प्रकट गर्दै ४६औं पुष्पलाल स्मृति दिवस मनाइएको छ ।

नेपाली साहित्यका प्रथम सहिद कृष्णलाल अधिकारी, राणा शासनविरुद्धको आन्दोलनको सहिद गङ्गालाल र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्मथलो रामेछापको मन्थलीस्थिति तीनलाल पार्कमा रहेको उहाँहरूको प्रतिमामा सोमबार बिहान माल्यार्पण कार्यक्रम आयोजना गरिएको हो ।

नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम एमाले मन्थली नगरपालिका कमिटीको आयोजनामा भएको हो ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष शाक्यले देश परिवर्तनको काम एक्लैले सम्भव नहुने बताउनुभयो । त्यसैले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले राजतन्त्र फाल्न कांग्रेस र कम्युनिष्ट मिल्नु पर्छ भनेको उहाँले स्पष्ट पार्नुभयो । त्यसैले पुष्पलाल दूरदर्शी नेता भएको बताउँदै पुष्पलालले भोलिकोसमेत प्रष्ट दृष्टिकोण राख्ने गरेको शाक्यले बताउनुभयो । पार्टी नेता प्रधान होइन नीति प्रधान हुनुपर्ने बताउँदै शाक्यले पुष्पलालको मूल धारणा नै त्यही भएको प्रष्ट पार्नुभयो ।

पुष्पलालको विचार र जननेता मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई आत्मसाथ गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई अघि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो । एमाले अहिले सत्तामा मात्र नभएर मूल नेतृत्वमा नै भएकोले नागरिकका समस्या समाधानको प्रमुख जिम्मेवारी पनि एमालेकै काँधमा आएको शाक्यले बताउनुभयो । ‘कतै गणतन्त्र माथि नै प्रश्न नउठोस्, अप्ठेरो नआओस्, नेपाली जनता विदेशिन बाध्य नहुन्, देशमा स्थायित्व, सुशासन र समृद्धिको यात्रा कायम गर्न सकियो हामीले हाम्रै कालमा नेपाललाई समृद्ध मूलक बनाउन सकिन्छ ।’ उहाँले भन्नुभयो ।

अहिलेको सरकारलाई नकारात्मक रूपबाट भन्दा पनि सकारात्मक रूपबाट हेर्न र सहयोग गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो । सबैले साथ दिँदा मात्र बलिदानबाट प्राप्त गणतन्त्र संस्थागत र सुदृढ हुने उहाँको धारणा छ ।

एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा अहिले ठूला पार्टी मिलेर सरकार बनेको बताउँदै उहाँले अब अलमलिन जरुरी नरहेको बताउनुभयो । एक अर्कामा अन्तर्विरोध सिर्जना गर्ने, आलोचन गर्ने भन्दा पनि देशको समृद्धि, देशको विकासको लागि सबैले इमानदारीपूर्वक काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । जसरी कृष्णलाल अधिकारी, गङ्गालाल श्रेष्ठ र पुष्पलाल श्रेष्ठले देश र लोकतन्त्रको लागि जीवन दिनुभयो त्यसैगरी सबै लाग्ने हो देशले चाँडै मुहार फेर्ने उहाँको दाबी छ ।

‘नेपाललाई, समृद्ध, सुशासनयुक्त गणतान्त्रिक मुलुक हो भनेर विश्वलाई चिनाउन सक्छौँ, त्यो काम गर्ने बेला आएको छ ।’ शाक्यले भन्नुभयो ।

पुष्पलालको स्मृति दिवस मनाउँदा माला मात्र लगाएर नहुने बताउँदै उहाँले पुष्पलालको जीवनशैलीबाट के कुरा सिक्न सक्छौँ भन्ने कुरा प्रमुख भएको बताउनुभयो ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य माधव ढुङ्गेल, गीता कार्की, प्रदेश कमिटी सदस्यहरू, जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियालगायत पदाधिकारी तथा सदस्यहरू, मन्थली नगर कमिटी अध्यक्ष रामबाबु घिमिरेलगायतका पदाधिकारी तथा सदस्य, जनसंगठनका नेताहरू, जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।