
रामेछाप, ६ साउन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव पुष्पलाल श्रेष्ठको ४६औँ स्मृति दिवसको अवसरमा आइतबार बिहान रामेछापमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा (एमाले) रामेछापको आयोजना र नेपाल रेडक्रस सोसाईटी रामेछाप शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । मन्थलीको देवकोटा चोकमा भएको रक्तदान कार्यक्रममा ३० जनाले रगत दिएका थिए ।
रगतको अभाव हुन नदिन र रगत अभावको कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर स्मृति दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरिएको एमाले रामेछापका सचिव प्रकाशकुमार कार्कीले जानकारी दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा भएको थियो । पिता भक्तलाल श्रेष्ठ रामेछाप मालपोत कार्यालयको हाकिम भएर आएको बेला माता तुलसीकुमारीको कोखबाट माइलो छोराको रुपमा उहाँको जन्म भएको थियो ।
विसं १९९७ सालमा दाजु गङ्गालाल श्रेष्ठलाई गोली ठोकेर मार्नु एक दिनअघि भद्रगोल जेलमा सपरिवार भेट्न जाँदा गङ्गालालले पुष्पलाललाई ‘माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस्’ भन्नुभएको थियो । दाजुको यही बचनबाट प्रभावित भएर पुष्पलाल राजनीतिमा लाग्नुभएको थियो ।
२००६ सालमा कलकत्तामा पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो । पुष्पलालले नेपालमा साम्यवादी विचारधाराको प्रचार गर्न कम्युनिष्ट पार्टीको घोषणापत्र नेपालीमा अनुवाद गर्नुभयो । निरंकुश पञ्चायत शासनविरुद्ध लड्दा लड्दै २०३५ साल साउन ७ गते पुष्पलालको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा निधन भयो । उहाँको स्मृतिमा नेपालका कम्युनष्टिहरुले साउन ७ गते स्मृति दिवस मनाउने गर्दछन् ।
नेकपा (एमाले) रामेछापले पुष्पलालको स्मृति दिवसको अवसरमा तीन दिनसम्म कार्यक्रम गर्ने भएको छ । उहाँको स्मृतिमा हिजो भँगेरीमा रहेको पुष्पलाल स्मृति पार्कको सरसफाइ गरिएको थियो । आज रक्तदान कार्यक्रम आयोजना गरिएको छ भने भोलि भँगेरीमा प्रवचन कार्यक्रम आयोजना गरिएको एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले जानकारी दिनुभयो ।








प्रतिक्रिया