२४ कार्तिक २०८३, मंगलबार

उदयपुरमा एमाले प्रवेशको लहर, भुपेन्द्र राईको नेतृत्वमा १६२ जना एमाले प्रवेश

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अन्जनी कुमार अधिकारी, उदयपुर, ६ साउन । उदयपुरको चौदण्डीगढी नगरपालिकामा एमाले प्रवेश गर्नेको लहर चलेको छ । स्थानीय जनता समाजवादी पार्टीका नेता भुपेन्द्र राईको नेतृत्वमा ठूलो संख्यामा विभिन्न पार्टी परित्याग गरी १६२ जना एमाले प्रवेश गरेका हुन् ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्रीसमेत रहनुभएका एमालेका स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्नुभएको थियो ।

शनिबार चौदण्डीगढी नगरपालिका-४ बसाहामा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टीबाट ७७ जना, नेकपा माओवादी केन्द्रबाट ४७ जना, नेपाली कांग्रेसबाट १८ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १७ जना र एकीकृत समाजवादीबाट ३ जना गरी १६२ जना एमाले प्रवेश गरेको एमाले चौदण्डीगढी नगर अध्यक्ष विकास बन्जाराले जानकारी दिनुभयो ।

पार्टी प्रवेश कार्यक्रम पश्चात छोटो मन्तव्य राख्दै नेता भुपेन्द्र राईले आफूहरुले १२ वर्षे राजनीतिक जीवन ठूला नेताको भूलभुलैयामा लागेर खेर फालेको भन्दै आफूले विगतमा निर्माण गरेको पार्टी एमालेमा पुनः जोडिन पाउँदा खुशी भएको बताउनुभयो । उहाँले मुलका सबैखाले समस्याको समाधान एमालेले मात्र गर्न सक्ने भएका कारण पनि आफूहरु पुनः एमालेमै फर्किन बाध्य भएको बताउनुभयो ।

पार्टीमा नव प्रवेशीहरुलाई स्वागत गर्दै मुख्यमन्त्री कार्कीले मुलुकमा स्थिर सरकारको निर्माण गरेर विकास र समृद्धिको आधार निर्माण गर्न एमाले र नेपाली कांग्रेसबीच सहकार्य भएको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले २०७९ को निर्वाचन पश्चात पटक पटक मुलुकमा सरकार बन्ने खेल हुँदा अस्थिरता बढेर गएको भन्दै अस्थिरताका कारण मुलुकलाई ठूलो क्षति पुगेकाले एमालेले आफ्नो मूल प्रतिस्पर्धी पार्टी कांग्रेससँगै सहकार्य गर्न बाध्य भएको जिकिर गर्नुभयो । उहाँले एमालेले अन्य कुनै पार्टी जस्तो च्याँखे थापेर सरकारमा जाने वा मन्त्री बन्ने खेलमा नलाग्ने भन्दै जनताको मन जितेर जनताको विश्वासले सरकारमा जाने भएको कारण कसैसँग पनि सहकार्य गर्दा मुलुकलाई विकास र समृद्धिमा लैजाने गरी सहकार्य गर्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले आफूहरुले कांग्रेससँग बाकी कार्यकाल सत्ता सहकार्य गरेको भएपनि चुनावमा गठबन्धन नहुने भन्दै दुई पार्टीबीच स्वस्थ प्रतिस्पर्धा हुनेसमेत बताउनुभयो । कार्कीले कांग्रेस आफूहरुको मुख्य प्रतिस्पर्धी भएको भएपनि वर्तमान देशको अवस्थालाई मध्यनजर गरेर सत्ता सहकार्य भएको दाबी गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले एमाले सधै मुलुकमा स्थिरता, विकास र समृद्धिको पक्षमा भएकोले पनि कांग्रेससँग सहकार्य गर्न पुगेको बताउनुभयो । कोशी प्रदेश सरकारको नेतृत्व आफूले गरिरहँदा जनताको अपेक्षा अनुसार काम गर्न नसकेकोमा आफू दुखी रहेको बताउँदै यी सबै सरकार फेरबदलको खेल मुख्य जिम्मेवार भएकोले कांग्रेससँगको सहकार्यमार्फत अब मुलुकलाई एमालेले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को महत्वपूर्ण आकांक्षा पूरा गर्नेगरी बाँकी कार्यकालमा सकारको नेतृत्व एमालेले गरिरहेको बताउनुभयो ।

शनिबार नेकपा (एमाले) चौदण्डीगढी नगर कमिटीको आयोजना भएको बृहत पार्टी प्रवेश कार्यक्रममा जसपा, माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका पार्टी परित्याग गरी १६२ जना एमालेमा प्रवेश गरेका थिए । ठूलो संख्यामा उपस्थित एमाले नेता तथा कार्यकर्ताले एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रमा बाल्दै एमाले कोशी प्रदेश कमिटी उपाध्यक्ष टिकाराम चेम्जोङ्गले एमालेका जनप्रतिनिधिले जनअपेक्षित काम गर्ने भएकोले पनि जनतामा एमालेप्रति विश्वास र भरोसा बढेको बताउनुभयो । उपाध्यक्ष चेम्जोङ्गले चौदण्डीगढी नगरपालिका पनि एमालेले जितेको र यहाँका जनप्रतिनिधिहरुको कार्यशैली र विकासप्रतिको लगावले आज ठूलो संख्यामा विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेसको लहर चलेको बताउनुभयो । उहाँले जनताले जसरी एमालेलाई विश्वास गरेका छन् सोही आधारमा जनप्रतिनिधिले काम गर्दै जानु पर्नेमासमेत जोड दिनुभयो ।

कार्यक्रमा बोल्दै एमाले उदयपुरका अध्यक्ष भागवत राउतले नवप्रवेशीहरुलाई पार्टीमा उचित जिम्मेवारी दिने बताउँदै उदयपुरमा मिसन ८४ सफलतातर्फ उन्मुख भएको दाबी गर्नुभयो । अध्यक्ष राउतले आफू पार्टीको जिम्मेवारीमा आएदेखि पार्टी प्रवेशको कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै एमालेलाई २०८४ को चुनावमा लालाकिल्लाका रुपमा स्थापित गरेर छोड्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले आफूले यसरी एमाले प्रवेशको लहर देख्दा अब आफ्नो पालिकामा प्रतिपक्षीनै नहुने हुनकी भन्ने आभास भएको बताउनुभयो । मेयर लामाले एमाले जनताको पार्टी भएकोले हिजो आफूहरुलाई एउटा विश्वासले जिम्मेवारी दिनुहुने तमाम जनताको भावना अनुसार आफूले काम गरिरहेको भन्दै आजको पार्टी प्रवेशको लहरले आफूलाई थप जिम्मेवारी थपेको बताउनुभयो ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य मन्जुकुमारी चौधरी, केन्द्रीय सदस्य अम्बिका थापालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम नगर अध्यक्ष विकास बन्जाराको अध्यक्षतामा भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य नगर उपाध्यक्ष लुङ्गाराज राईले राख्नुभएको थियो ।