
काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीका कारण एमालेसँग सहकार्य गर्नुपरेको स्पष्ट पार्नुभएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति भोजपुरले वीपी कोइरालाको ४२औं स्मृति दिवसको अवसरमा आयोजित सम्मान कार्यक्रममा उहाँले आफूहरु प्रतिपक्षमै बसेर काम गर्ने इच्छा हुँदाहुँदै परिस्थिति फरक बनेको बताउनुभएको हो ।
‘माओवादीको अध्यक्षले हामीसँग गठबन्धनमा रहेकाबेला पनि एउटासँग विवाह गर्ने र अरुअरु तिर चियाउन जान थाले । एमालेसँगको गठबन्धनमा पनि उहाँले त्यस्तै प्रवृत्ति देखाउनुभयो । एमालेसँगको गठबन्धनमा रहदा पनि हामीसँग भेटेको बेला एमालेसँग सहज अवस्था भएन भन्नुहुन्थ्यो । दुई पार्टीको अध्यक्ष टाढिएपछि आजको अवस्था बन्यो । प्रचण्डले त्यस्तो काम नगरेको भए यो नयाँ सरकार बन्दैन् थियो होला ।’ उहाँले भन्नुभयो ।
माओवादी, एमाले, रास्वपालगायतका पार्टीहरु नै मिलेर सरकार सञ्चालन गरोस् भन्ने आफूहरुको इच्छा रहेको भएपनि परिस्थिति बदलिएको उहाँको धारणा थियो । ‘हामी प्रतिपक्षमा बसेर पार्टीलाई संगठित गर्ने र पार्टीभित्रको फोहोरहरु सफा गर्ने, पार्टीलाई बलियो बनाउने अभियानमा थियौँ । तर परिस्थिति बदलियो ।’ उहाँले भन्नुभयो ।
फरक प्रसंगमा उहाँले नयाँ सरकार बन्नेक्रममा समझदारीलाई नेपाली कांग्रेसले इमान्दारका साथ पालना गर्ने र एमालेले पनि गर्छ भन्ने आफूलाई विश्वास व्यक्त गर्नुभयो ।
‘अब दुई वर्ष अहिलेको सरकार चल्छ । त्यसपछिको १८ महिना हाम्रो सरकार चल्छ । यस बीचमा एकपटक मात्र सरकार परिवर्तन हुन्छ भन्ने समझदारी छ ।’ उहाँले भन्नुभयो ।








प्रतिक्रिया