
काठमाडौं, ५ साउन । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले कांग्रेस र एमाले मिलेर माओवादीलाई घुस खान सिकाएको आरोप लगाउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित ‘बाबुराम एक दुरदर्शी विद्रोही’ नामक पुस्तक विमोचन समारोहमा बोल्दै उहाँले कांग्रेसले राजाबाट एमालेले कांग्रेसबाट घुस खान सिकेको भन्दै कांग्रेस र एमाले मिलेर माओवादीलाई पनि घुस खान सिकाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘राम्रो सरकार कस्तो हुन्छ भने जसमा घुस खाने मान्छेहरु छैनन् । राजाले घुस खान कतैबाट सिके होलान् । तर कांग्रेसले राजाबाट सिक्यो संस्थागत रुपमै, हामी एमाले भएर कांग्रेसबाट सिक्यौँ, उनीहरुसँग संगत बढ्दै जाँदा सिक्यौँ । दुईवटै पार्टी मिलेर माओवादीलाई घुस खान सिकाएका हौँ ।’
उहाँले डा. बाबुराम भट्टराईले २०६२/०६३ सालमा राजतन्त्र हिँडेपछि जनवादी क्रान्ति जनयुद्धले पूरा गरेको भनेर दाबी गर्न सक्नुपर्ने भएपनि नसकेको बताउनुभयो ।
‘समाजवादी बाटो निर्माणतर्फ जान दलाल पुँजीवादले रोकेको छ । हामी राष्ट्रिय पुँजीको विकास गर्दै लामो योजना बनाएर समाजवादमा जाने हो भनेर भट्टराई जत्तिको मान्छेले भन्न नसक्नु दुखद् छ ।’ भुसालले भन्नुभयो, ‘डा. बाबुराम भट्टराईको के गल्ती छ भने जब ६२–६३ सालमा राजतन्त्र हिँड्यो, त्यसैबेला दाबी गर्न सक्नुपर्दथ्यो । जनवादी क्रान्ति हामीले पूरा गरेको हौँ, जनयुद्धले पूरा गरेको हो भन्न सक्नुपर्दथ्यो । समाजवादी बाटो निर्माणमा जान दलाल पुँजीवादले रोकेको छ, राष्ट्रिय पुँजीको विकास गर्दै लामो ५०–६० वर्षको योजना बनाएर समाजवादमा जाने हो भनेर उहाँ जत्तिको मान्छेले भन्न सक्नुपथ्यो ।’









प्रतिक्रिया