२४ जेष्ठ २०८३, आइतबार

सिमलताल पहिरो : बेपत्ताको खोजीका लागि १२ जना भारतीय टोली नेपालमा

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, ५ साउन । गत शुक्रबार चितवनको सिमलतालमा गएको पहिरोबाट बेपत्ता भएको दुई वटा बस र यात्रुको खोजीका लागि १२ जनाको टोली शुक्रबार मध्यरातमा नेपाल आएको छ ।

रुपन्देहीको बेलहिया नाका हुँदै राति १२ बजे ४ वटा गाडीसहित राष्ट्रिय विपद् प्रतिकार्य फोर्स भारतका विज्ञसहितको टोली नेपाल आएको हो । त्रिशूली नदीमा खसेका बस र यात्रुको खोजीका भारतीय उद्धार टोली ४ वटा गाडीसहित नेपाल आएको छ । टोलीले उद्वारमा चाहिने उपकरणसमेत लिएर आएका छन् ।

गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयको समन्वयमा भारतका ती टोली राति १२ बजे बेलहिया नाका हुँदै नेपाल आएको हो । सशस्त्र प्रहरी बल, २७ नम्बर गण हेडक्वार्टरले उनीहरुलाई स्वागत गरी भैरहवामा राखेको थियो । उनीहरु राति भैरहवामा बास बसी बिहानै चितवनतर्फ प्रस्थान गरेका छन् । चितवनमा उद्वार गर्नका लागि नै ती टोली नेपाल आएका हुन् ।

सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यालय बेलहिया, भन्सार कार्यालय, अध्यागमन कार्यालयको समन्वयमा मध्यरातमै ती गाडीसहितको टोलीलाई स्वागत गरिएको थियो ।

खोजीका लागि नेपालले भारतको सहयोग मागेको थियो । गृहमन्त्रालयको विपद् महाशाखा प्रमुख डा. भीष्मकुमार भुसालका अनुसार ती टोली आजै घटनास्थल पुगी खोजीकार्य गर्ने छन् ।

राष्ट्रिय विपद प्रतिकार्य फोर्स भारतका एक जना विज्ञसहित १२ जना रहेका छन् । उनीहरुले उद्वारका लागि चाहिने डोरी, पानी भित्र प्रयोग हुने संचार यन्त्र, कम्प्रेसर मेसिन सेट, लाइफ ज्याकेट, टेन्ट, पानी भित्रको डिभाइडर, रेन कोटलगायतका आवश्यक सामाग्री र उपकरण लिएर आएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिनुभयो ।

सिमलताल दुर्घटनाको आज आठौँ दिन भएको छ । अहिलेसम्म विभिन्न ठाउँमा गरी २३ वटा शव भेटिएको छ । दुई बसमा गरी ६५ जना सवार रहेकोमा तीन जना सकुशल फेला परेका थिए । अझै ३९ जना यात्रु र बसको अवस्था थाहा हुन सकेको छैन् ।