
काठमाडौं, ५ साउन । हाँस्य टेलिश्रृंखलामा सफलता हासिल गरेको अर्को टिम ‘सक्किगोनि’का कुमार कट्टेल र अर्जुन घिमिरेले फिल्म बनाउने घोषणा गर्नुभएको छ । यो टिमले शुक्रबार एक कार्यक्रमकाबीच पहिलो फिल्मको रुपमा ‘लाज शरणम्’को औपचारिक घोषणा गरेको हो ।
गत फागुनमा पोस्टरमार्फत् फिल्मको नाम सार्वजनिक गरिएको थियो । तर, निर्देशकसहित कलाकारहरुको नाम खुलाइएको थिएन ।
शुक्रबार घोषणा कार्यक्रममा कुमार कट्टेल (जिग्री)ले फिल्मको निर्देशन गर्ने जानकारी गराइयो । यसमा उहाँ स्वयंको लेखन छ । कुमारले यसअघि ‘भद्रगोल’ र अहिले ‘सक्किगोनि’मा पनि अभिनयसहित लेखन र निर्देशनको जिम्मेवारी सम्हाल्दै आइरहनुभएको छ ।
महाशिवरात्रीको दिन पारेर आगामी फागुन १४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्ममा ‘सक्किगोनि’ टेलिश्रृंखलाबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), कमलमणि नेपाल (खुपीका बाउ) हुनुहुन्छ भने अन्य कलाकारहरुमा मुकुन्द श्रेष्ठ, विजय बराल र माला लिम्बू हुनुहुन्छ । कुमारको भने अभिनय रहने वा नरहने तय छैन् । यद्यपि, उहाँको केमियो भूमिका हुनसक्ने बताइएको छ ।
सुदीप बरालको छायांकन रहने फिल्मको निर्मातामा नविन श्रेष्ठ र सह-निर्मातामा नरेश शाह हुनुहुन्छ । फिल्मको आगामी भदौपछि छायांकन हुन लागेको जानकारी दिइएको छ ।








प्रतिक्रिया