३२ असार २०८३, बिहिबार

मनसुनको एक महिना : बाढी, पहिरो, चट्याङबाट मानवीय क्षति बढी

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । नेपालमा मनसुन सुरु भएको एक महिनामा मनसुनजन्य विपद् (मुख्यगरी बाढीपहिरो र चट्याङ)का घटना तथा मानवीय क्षति बढी भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको मनसुनको ३० दिनको अवस्था प्रतिवेदनअनुसार गत वर्षभन्दा यस वर्षको मनसुनको ३० दिनमा दुई सयभन्दा बढीले बाढी, पहिरो, चट्याङ तथा भारी वर्षका घटना वृद्धि भएको हो । मानवीय क्षति पनि उल्लेख्य वृद्धि भएको पाइएको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।

प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले यसपालि नेपालले बाढी, पहिरो, चट्याङबाट जनधनको बढी क्षति बेहोरेको बताउनुभयो । प्रतिवेदनअनुसार गत वर्ष यो अवधिमा ती विपद्का चार सय ५१ वटा घटना भएको थियो । यसपालि भने ६ सय ९१ वटा घटना भएको पाइएको छ । जसमा गत वर्ष ४२ जनाको मृत्यु भएकामा यसपालि यस अवधिमा ६९ जनाले ज्यान गुमाएका छन् । गत वर्ष बेपत्ता २५ जना रहेकामा यसवर्षको अवधिमा तीनजना बेपत्ता रहेका छन् । गत वर्ष ५६ जना घाइते भएकामा यसपालि ८९ जना घाइते भएका जनाइएको छ ।

बाढीबाट गत वर्ष सात जनाको मृत्यु भएकामा यसपालि १५, पहिरोबाट गत वर्ष १७ जनाको मृत्यु भएकामा यसपालि ३५ र चट्याङबाट गत वर्ष १६ जनाको मृत्यु भएकामा यसपालि १९ जनाले ज्यान गुमाएका छन् । भारी वर्षाका कारण गत वर्ष दुई जनाले ज्यान गुमाएकामा यसपालि शून्य रहेको छ ।

प्रभावित परिवार भने गत वर्षभन्दा यस वर्ष कमी देखिएको छ । गत वर्ष दुई हजार एक सय ६४ परिवार प्रभावित भएकामा यसपालि एक हजार दुई सय ७२ परिवार प्रभावित भएका प्रतिवेदनमा उल्लेख गरिएको छ । यो तथ्याङ्क गत वर्ष विसं २०८० साल जेठ ३१ (मनसुन सुरु भएको दिन) र यस वर्ष जेठ २८ गते (मनसुन सुरु भएको दिन) देखि ३० दिनको अवधिमा भएको तथ्याङ्क छ ।