२ असार २०८३, मंगलबार

माहेश्वरी महिला मञ्चको आयोजनामा दुईदिने श्रावणी मेला सुरु

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ४ साउन । माहेश्वरी महिला मञ्च विराटनगरको आयोजनामा शुक्रबारदेखि स्थानीय अतिथि सदनमा दुईदिने श्रावणी मेला सुरु भएको छ । विगत ६ वर्षदेखि हरेक साउन महिनामा श्रावणी मेला गर्दै आएको मञ्चले यस वर्ष पनि मेलाको आयोजना गरेको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मेलाको उद्घाटन गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले विराटनगर आर्थिक र व्यावसायिक क्षेत्रमा महत्त्वपूर्ण थलो भएपनि अपेक्षाअनुसारको समृद्धि हासिल गर्न नसकेको बताउनुभयो । मुख्यमन्त्री कार्कीले विराटनगरका मारवाडी समुदायका महिला स्वास्थ्य, समाजसेवा, शिक्षा र व्यवसायका क्षेत्रमा अगाडि रहेको उल्लेख गर्दै महिलाले सम्पन्न गरेको कार्य भरपर्दो र विश्वसनीय हुने धारणा राख्नुभयो ।

मञ्चका अध्यक्ष ललिता जाजूले मञ्चले महिलालाई आत्मनिर्भर बनाउन र हरेक कार्यमा हौसला प्रदान गर्न निरन्तर कार्यक्रम गर्दै आएको स्पष्ट पार्नुभयो ।

मेलाका संयोजका ललिता राठीले मेलामा खानेकुरा, लुगाकपडा, मरमसला, गरगहना, सजावट र शृंगार प्रसाधनका ३२ वटा स्टल भएको जानकारी दिनुभयो । मेलाको दुई दिनमा ४ हजार जनाले अवलोकन गर्ने मञ्चले जनाएको छ ।

कार्यक्रममा माहेश्वरी समाज विराटनगरका अध्यक्ष घनश्याम काबराले माहेश्वरी महिला मञ्चले आफ्नो स्थापनाकालदेखि नै मानवताको सेवामा आफूलाई समर्पण गरेको चर्चा गर्नुभयो ।