शुक्रबार, ४ असोज २०८१
DainikNepal.com
शुक्रबार, ४ असोज २०८१

प्रवासमा संगठन निर्माण चुनौतिपूर्ण : वरिष्ठ उपाध्यक्ष पोखरेल

दैनिक नेपाल २०८१ साउन ४ गते ९:५८

दोहा कतार, ४ साउन । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको प्रवासी नेपाली मञ्च कतारको बैठकलाई सम्बोधन गर्नुभएको छ । मञ्चको सातौँ अधिवेशनको पूर्वसन्ध्यामा सम्पन्न बैठकलाई सम्बोधन गर्नुहुँदै पोखरेलले एमालेको संगठन विश्वको ३७ वटा देशमा फैलिएको बताउनुभयो ।

उहाँले प्रवासमा संगठन निर्माण गर्न देशभित्रको कमिटीजस्तो सहज नरहेको उल्लेख गर्नुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रवासमा संगठन निर्माण चुनौतिपूर्ण रहेको बताउनुभयो । संगठन निर्माण गर्दा वैधानिक सम्बन्धित देशको कानूनभित्र रहेर पार्टी काम र एमालेसँग आवद्ध भएर काम गर्न उहाँले आग्रह गर्नुभयो ।

‘प्रवासी नेपाली मञ्च कम्युनीटिबेस संगठन हो ।’ उहाँले भन्नुभयो ‘हाम्रो पार्टीमा नीति र नेतृत्वमा विवाद छैन । नेतृत्वमा छलफल गर्नुहोस् पार्टी निर्माणमा जोड दिनुहोस् ।’

उहाँले प्रतिकूल देशमा बसेर संगठन निर्माण गर्दा सर्वसम्मतीमा गर्न आग्रह गर्नुभयो । उहाँले नेताहरू रेफ्रीको भुमिकामा रहनुपर्नेमा आफै गोल हान्न खोज्दा समस्या हुने गरेको टिप्पणीसमेत गर्नुभयो ।

यसैगरी, वरिष्ठ उपाध्यक्ष पोखरेलले देशमा राजनीतिक स्थायित्व नभएकाले स्थायित्व कायम गर्न पार्टीले मिसन ०८४ को नीति अघि सारेको उल्लेख गर्दै यहाँको प्रवासमा १५ हजार सदस्य बनाउन जोड दिनुभयो ।

मञ्चका संयोजक अफ्सर खानको अध्यक्षतामा बसेको बैठकमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी अध्यक्ष सञ्जय थापा, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मञ्चका मध्यपूर्व संयोजक प्रकाश कोइरालालगायतले बोल्नुभएको थियो ।

प्रवास मञ्चको अधिवेशन दुई दुई वर्षमा हुने गरेको छ । प्रवासी मञ्चमध्ये कतार एमालेको बलियो संगठन रहेको क्षेत्र हो ।

प्रतिक्रिया
सम्बन्धित