१ असार २०८३, सोमबार

भारतीय नेपालीलाई घच्घच्याउन आइपुग्यो युवराजको ‘पेण्डुलम’

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सञ्जय प्रधान/दार्जीलिङ (भारत)

भारतमा नेपालीहरूको धमनी मानिने दार्जीलिङ पहाडको अवस्था कहिले देशको राजधानी दिल्ली कहिले पश्चिम बंगालको राजधानी कोलकातातिर हेर्नुपर्ने छ । घडीको पेण्डुलम जस्तै दार्जीलिङ पहाडको आँखा चल्छ कहिले दिल्लीतिर कहिले कोलकातातिर ।

आखिर के भारतमा नेपालीहरूको स्थिति पेण्डुलम जस्तै छ ? यसलाई बुझ्न, चिन्तन गर्न, विश्लेषण गर्न युवराज सुन्दासको नयाँ कविता संग्रह ‘पेण्डुलम’ पढ्नु पर्छ । खरसाङदेखि करिब १७ किलोमिटर टाडो तीनधारे निवासी युवराज सुन्दास दार्जीलिङ पहाडी भेकका सुपरिचित पत्रकार साथै नमस्ते खरसाङ टीभी च्यानलका एकजना राजनैतिक विश्लेषक पनि हुनुहुन्छ ।

आइतबार तीनधारेको गान्धी मेमोरियल हलमा युवराज सुन्दासको यो नयाँ कृति ‘पेण्डुलम’ लोकार्पण भयो । भारतमा नेपाली समाजलाई घच्घच्याउने यो पुस्तक लोकार्पणको कार्यक्रमका संचालक युवा कवि सुप्रेम छेत्री संचालनकै क्रममा यसरी जोशिनुहुन्छ, ‘कहिले दिल्लीलाई हेर्दै कहिले कोलकातालाई हेर्दै भारतमा गोर्खाहरू ‘पेण्डुलम’ भइरहेका छन् ।’ उहाँको यो भनाइ ‘पेण्डुलम’ जस्तै हल्लिने राजनीतिले भारतमा नेपालीहरू प्रताडित रहेको महसुस हुन्छ ।  ‘पेण्डुलम’ अरुणा सुन्दासद्वारा प्रकाशित गरिएको हो ।

यस्तो छ ‘पेण्डुलम’को पहिलो पंक्ति-
“कहाँबाट शुरु गरौँ अनि कहाँ लागि टुंग्याउनेको
पेण्डुलम आँखाहरूले किन सोच्दैनन्’

समयका चोटहरूबाट कवि युवराज सुन्दास पनि प्रताडित नै रहेको र पीडित नै रहेको कुरा ‘पेण्डुलम’ कविता संग्रहबारे टिप्पणी गर्दै
सुपरिचित साहित्यकार विमल राईले बताउनुभयो । कविता संग्रह ‘पेण्डुलम’मा कता कता मूर्त अमूर्त कुराहरू युवराजले गर्नु भएको उहाँले बताउनुभयो ।

कवितामा युवराज सुन्दास भन्दा बढी पत्रकारको आत्मा रहेको विमल राईको विचार छ । उहाँ भन्नुहुन्छ, ‘युवराजलाई कवि भन्दा क्रिटिकल एसे लेख्ने पात्रको रुपमा हेर्छु ।’ कविता संग्रह ‘पेण्डुलम’मा २७ वटा कविताहरू प्रस्तुत गरिएको छ । यसको मूल कविता ‘पेण्डुलम’मा कथा भेट्टाएको राईको भनाइ छ ।

यस कविता संग्रहमा ‘यो हाम्रो खाजा’ कवितामा युवराज सुन्दासले डेढ सय वर्ष भन्दा बढी समयदेखि आफ्नो खुन पसिना बगाएर कठिन संघर्षमय जीवन जिउँदै आएका चियाबारीका श्रमिकहरूको दु:ख पीडालाई उजागर गर्नुभएको छ । पत्रकार कवि युवराज सुन्दासको अर्को कविता ‘मिडिया महिमा’ लोकतन्त्रको चौथो स्तम्भ मिडियालाई प्रश्नसहितको झटारो हान्नुभएको छ ।

लोकापर्ण समारोहका मुख्य अतिथि वरिष्ठ साहित्यकार जीवन नामदुंगले ‘पेण्डुलम’ पुस्तकमा यसरी लेख्नु भएको छ, ‘कविता संग्रहको तुलनामा केही माझिएका परिष्कृत भाषाशैलीका एकाध कविताहरू पनि यस संग्रहका विशेष आकर्षण रहेका छन् । सामाजिक चिन्ताले छोइएका कतिपय पठनीय कविताहरूमा ‘चोरबाटो’का केही पंक्तिहरू उल्लेख्य छन् ।’

‘चोरबाटो’ का पंक्ति यस्ता छन्-
‘हामीलाई चोरबाटो प्यारो लाग्छ
बिचमै चिप्लेर लडे पनि अरुहरूभन्दा
छिटो पुग्न मन लाग्छ ।
हामी कहाँ हो र चोरबाटो हिडेको ?
हाम्रो त पुस्ता पुस्ताको परम्परा नै
बनेको छ यो चोरबाटो हिँड्ने बानी ।’  

वरिष्ठ साहित्यकार जीवन नामदुंग, कार्यक्रमका अध्यक्ष विजय मगर, विशिष्ट अतिथि सुपरिचित साहित्यकार हस्त नेचाली, गोर्खाल्याण्ड
टेरिटोरियल एड्मिनिस्टे्रसन (जीटीए)का सभासद नवराज क्षेत्री, सुपरिचित साहित्यकार विमल राई, साहित्य अकादमी दिल्ल्लीका परामर्श समितिका सदस्य तथा गोर्खा सांस्कृतिक संस्थानकी अध्यक्ष आशा लामा मुखिया, डा. अमीर ठटाललगयात अन्य विशिष्ट अतिथिहरूको बाहुलीबाट ‘पेण्डुलम’ लोकार्पण गरिएको हो ।

लोकार्पण पछि युवाराज सुन्दासले भन्नुभयो, ‘कविता चाहिं मैले लेखें, तर मेरो लाइफको शुरुवात एउटा पत्रकारबाट भएको हो । पत्रकारितालाई बिर्सिन सक्दिनँ ।’

कार्यक्रममा तीनधारे निवासी नवीन प्रधानलाई नागरिक अभिनन्दन अनि नेपाल आइडलका फाइनलिस्ट मोहित भुजेललाई सम्वर्द्धना जनाइएको छ । तीनधारेको गान्धी मेमोरियल जहाँ कुनै समय स्वर साम्राज्ञी स्व. अरुणा लामा, स्व. कुमार सुब्बा साथै नेपालका धेरै कलाकारहरूको संगीतमय साँझ खुबै जमिन्थ्यो । यसपाली हलमा ‘पेण्डुलम’ले नेपाली समाजलाई झक्झकाउने काम गरेको छ ।