
चितवन, २९ असार । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिराले बगाएका बसका बेपत्ता यात्रीमध्ये तीन जनाको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालकानुसार मृतावस्थामा तीनवटा शव भेटिएको छ भने दुई जनाको पहिचान खुलेको छ । पहिचान खुल्नेमा सर्लाही बरहथवा नगरपालिका-३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साह रहेका छन् । साहको शव आज बिहान ११ बजे र माझीको शव साँझ भेटिएको हो । माझीका बुबा रवीन्द्रकिशोर माझी र साहका दाजुले सनाखत गर्नुभएको प्रहरी जनाएको छ ।
काठमाडौंबाट गौर जान आउँदै गरेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बसमा सवार रहेका दुवैजनाको शव नारायणी नदीको गाँजीपुर र नवलपुर क्षेत्रमा भेटिएको हो । ती शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
सुरूकै दिनदेखि प्रहरीले बस तथा यात्रुको खोजी गरिरहेको छ तर अँध्यारो भएकाले अहिले साँझदेखि खोजीको काम रोकिएको छ । आइतबार बिहान ७ बजेबाट पुनः काम सुरू गरिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । उहाँकानुसार आइतबार गृहसचिवसहितका सुरक्षा निकाय प्रमुखहरूले घटनास्थलको निरीक्षण गर्ने कार्यक्रम छ ।
शुक्रबार काठमाडौंबाट गौर आउँदै गरेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा खसेका थिए । काठमाडौंबाट गौर आउँदै गरेको बसमा सवार २७ जना र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा सवार २४ जना बेपत्ता भएका थिए ।








प्रतिक्रिया