२८ जेष्ठ २०८३, बिहिबार

‘जनसंख्या वृद्धि नभए नेपालको अस्तित्व रहँदैन्’

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असार । दर्शन चिन्तक प्रा.डा. गोपिलाल न्यौपानेले जनसंख्या वृद्धि गर्ने दिशातिर नगए अबको एक शताब्दीपछि नेपालको अस्तित्व नरहने खतरा रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले अहिले पनि पञ्चायतकालिन जनसंख्या नीतिले निरन्तरता पाउनुले देशको भविष्य भयावह उन्मुख रहेको दाबी गर्नुभएको हो ।

उहाँले देश राजनीति अस्थिरताको भूमरीमा फस्नु, राजनीतिक दलहरु सत्ता दाउपेचमा रुमलिनुको परिणाम सदियौंदेखि गरिबी र पछौटेपनामा गुज्रनुपरेको आरोप पनि लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘कुनै कुराको अध्ययन–अनुसन्धान नगरी सबै सधै हावाको भरमा हरेक कुरा चलाउनुको परिणाम हामी ‘सुनको थालमा भिख मागिरहेका छौँ ।’ काठमाडौं जस्तो राजधानी सहरमा पनि विश्वमा सबैभन्दा कम जनघनत्व (३९५ प्रति वर्ग किलोमिटर) हुनु दुर्भाग्य भएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘कहिले सडकपेटी सफा गर्ने बहाना, कहिले सुकुम्बासी त कहिले पार्किङको कारण देखाउँदै मान्छे लखेटिएको छ अनि कसरी बन्छ देश । भक्तपुरमा ३,६३१, सिंगापुर ८,४३०, ढाकामा १० हजार प्रतिवर्ग किलोमिटर जनघनत्व हुँदा काठमाडौंको तीन सय ९५ मात्रै छ, अनि कसरी जनसंख्या ज्यादा भयो ?’

जनसंख्याविद नवराज थापाले देशको जनसंख्या घटी र बढीसँग भन्दापनि त्यसको कसरी व्यवस्थापन गर्ने भन्ने कुरा मुख्य सरोकारको विषय भएको बताउनुभयो । नेपालमा वर्तमान जनसंख्याको तथ्याङ्क अनुसार जन्मदर र मृत्यूदर घट्न गएको र निर्भर भन्दा काम गर्ने उमेरका जनसंख्याको हिस्सा बढी भएपनि देशको राजनीतिक अस्थिरताको कारण त्यसको समुचित उपयोग नहुनु दुर्भाग्य भएको थापाले बताउनुभयो ।

उहाँले अघिल्लो जनगणनाको तुलनामा पछिल्ला दशकमा जनसंख्या वृद्धिदर घट्दै गएको र वृद्ध–वृद्धाहरुको संख्यामा वृद्धि हुने र उत्पादनशिल जनशक्ति विदेश पलायन हुनुले देशको भविष्य संकटउन्मुख रहेकोप्रति पनि चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘विश्वमा हाल आठ अर्बभन्दा बढी जनसंख्याको बसोबास भइरहँदा, विकसित देशहरुमा १६ प्रतिशत र कम विकसित देशहरुमा ८४ प्रतिशत छ । त्यसैगरी एसियामा विश्व जनसंख्याको करिब ५९ प्रतिशत जनसंख्या छ । ती मध्ये भारत र चीनमा सर्वाधिक जनसंख्यको बसोबास छ । नेपालमा २ करोड ९२ लाख रहँदा भारत र चीनसँग नेपालको डेढ अर्बको अन्तर हुँदा नेपालले सन्तुलित जनसंख्या नीति अबलम्बन गर्नुपर्ने अवस्था आएको छ ।’

नेपालले बेलैमा जनसंख्यालाई समान वितरण र ठूला मुलुकहरुसँग त्यसको सन्तुलन कायम नगरे नेपाली नश्लको भविष्यमा खडेरी पर्नुका साथै विदेशीको हातमा देश जानेप्रति सोच्नुपर्नेमा थापाको जोड छ ।