२५ असार २०८३, बिहिबार

मन्थली नगरपालिकाको यसवर्षको खर्च ८४ प्रतिशत

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, २९ असार । मन्थली नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा झण्डै ८४ प्रतिशत रकम खर्च गरेको छ । यस आर्थिक वर्षमा नगरपालिकाले ८३.७५ प्रतिशत बजेट खर्च गरेको कार्यालयले जनाएको छ ।

नगरपालिकाको कूल १ अर्ब ४ करोड ८६ लाख ९८ हजार बजेट मध्ये चालु खर्च तर्फ ८९.३४ र पुँजीगत तर्फ ७४.२ प्रतिशत रकम खर्च भएको कार्यालयले जानकारी दिएको छ । यसवर्ष कूल ४ सय ८७ योजना मध्ये ४ सय ७९ योजना सम्पन्न भएका छन् । आठ वटा योजनामा भने यस वर्ष काम हुन नसकेको कार्यालयले जनाएको छ ।

मन्थली नगरपालिकाका १, ३, ७, ८, ११ र १३ का नयाँ वडा कार्यालय भवन बनेका छन् । वडा नं ४ र ५ को भवन निर्माणका लागि निर्माण व्यवसायसँग सम्झौता भएको छ भने ६, ९ र १२ को भवन निर्माणका लागि जग्गा प्राप्तिका लागि पहल भई रहेको नगर प्रमुख लब श्रेष्ठले बताउनुभयो ।

फोहोर व्यवस्थापनको लागि वडा नं ६ को कल्लेरीमा सर्वेक्षण भई डीपीआर तयार भएको छ । अहिले डम्पीङ साइड नहुँदा नदी किनारमा फोहोर फालिँदै आएको छ । नगरपालिकाले ११ वडामा वडागत उत्पादन पकेट कार्यक्रम सञ्चालन गरेको छ । एक वर्षको अवधिमा १ हजार ९ सय ३३ गाई, भैँसी र बाख्रालाई कृत्रिम गर्भाधानको माध्यमबाट नस्ल सुधार गरिएको छ ।

नगरपालिकाले दूध उत्पादन वृद्धिका लागि दूधमा अनुदान कार्यक्रम सञ्चालन गरेको छ । ११ लाख ५५ हजार २ सय ३५ लिटर दूधलाई प्रति लिटर २ रुपैँया ५० पैसाका दरले अनुदान दिएको छ ।

मन्थली नगरपालिकाका महाशाखा प्रमुख हेमन्तकुमार बुढाथोकीकाअनुसार नगरपालिकाले २५ जनालाई उद्यम विकास तालिम, १४ जनालाई हार्पिक र साबुन बनाउने तालिम, २० जनालाई कृष्टल बनाउने तालिम, ३१ जनालाई दुना टपरी बनाउने तालिम, १८ जनालाई पञ्चेबाजा बजाउने तालिम, १३ जनालाई ढाका बुनाई, २१ जनालाई मौरीका घारसहित मौरी पालन, ३१ जनालाई दालमोट र चिप्स बनाउने तालिम र २५ जनालाई धूप बनाउने तालिम दिएको छ ।

नगरपालिकाभित्र रहेका ६७ वटा सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ती गरिएको कार्यालयले जनाएको छ ।

त्यस्तै, बाल विवाह, छुवाछुत र लागु औषधि प्रयोगलाई निरुत्साहित गर्न सचेतनाका कार्यक्रम सञ्चालन गरिएको छ । नगरपालिकाका विपन्न नागरिकलाई उपचारका लागि विभिन्न अस्पतालमा सिफारिस गरेको छ भने नगरपालिकाका १ सय ६ जना दीर्घरोगका बिरामीलाई मासिक ५ हजारका दर उपचार खर्च प्रदान गरिएको छ ।

नगरपालिकाले एउटा ऐन, ११ कार्यविधि, एउटा निर्देशिका र एउटा नीति गरी १४ ओटा ऐन कानून निर्माण गरेको छ । हालसम्म नगरपालिका भित्र करिब ८४.५ किलोमिटर सडक कालोपत्रे गरिएको छ । केही सडक पिच र ढलानको तयारीमा छन् ।