
रामेछाप, २९ असार । रमणीय पर्यटकीय स्थल शैलुङमा अवरुद्ध भएको विद्युत् सेवा एक हप्तापछि सञ्चालनमा आएको छ । असार २१ गते परेको भीषण वर्षाले रुख र विद्युतका पोल ढलेर अवरुद्ध भएको विद्युत् सेवा स्थानीयसमेतको प्रयासमा रुख पन्छाउने, पोल गाड्ने तथा तार तान्ने कार्य पछि शुक्रबारबाट सुचारु भएको छ । दोरम्बा विद्युत् सवस्टेसनले समयमा काम नगर्दा एक हप्तासम्म स्थानीय अन्धकारमा थिए ।
विद्युत् सेवा अवरुद्ध हुँदा १ सय २० घर बढी उपभोक्ता तथा शैलुङ पुग्ने पर्यटकलेसमेत समस्या भोगेका थिए । विद्युत् सेवा सुचारु भए पनि शैलुङ जाने सडकको अवस्था अहिले पनि उस्तै छ । सोही वर्षाको कारण बिग्रिएको सडक मर्मत हुन सकेको छैन । सडक मर्मत नहुँदा सदरमुकाम मन्थली तथा काठमाडौंबाट शैलुङको आवागमन बन्द भएको छ ।
सडक अवरुद्ध हुँदा बिरामीलाई उपचार गर्न लैजानसमेत समस्या भएको स्थानीय दावासाङ्बु शेर्पाले जानकारी दिनुभयो । यसको साथै शैलुङको कृषि उपज पनि स्थानीले बजार पुर्याउन पाएका छैनन् ।
यसै वर्ष स्तरोन्नति गरिएको सडक बाढी पहिरोको कारण ठाउँ ठाउँमा भत्किएको छ भने ठाउँ ठाउँमा रुख ढलेर सडक अवरुद्ध भएको छ । सडक मर्मतको काम सुरु भएको छैन ।
शैलुङ मात्रै होइन दोरम्बा शैलुङ गाउँपालिकाको केन्द्र टोकरपुर जाने सडकसमेत वर्षाको कारण जोखिमपूर्ण बनेको छ । दोरम्बाको अग्लेश्वरीदेखि टोकरपुर पुग्ने सडक यातायात साधन चल्न नसक्ने अवस्थामा पुगेको छ । यो सडक मर्मतको लागि स्थानीय दोरम्बा शैलुङ गाउँपालिकाले ६५ लाख बढी खर्च गरिसकेको छ । सडकमा ग्राभेल बिछ्याइएको भए पनि गुणस्तरीय काम नहुँदा अहिले सडक रोपाइँको लागि ठिक्क पारेको खेत जस्तै भएको स्थानीयको गुनासो छ ।
सडकको दुरावस्थाको कारण दोरम्बा, टोकरपुर, गौश्वारा, डडुवा लगायतका क्षेत्रबाट काठमाडौं र सदरमुकाम मन्थली आऊ–जाऊ गर्नसमेत समस्या भएको छ । यसकै सबैभन्दा ठूलो मारमा बिरामी तथा असक्त परेका छन् ।
सडक सहज नहुँदा गाउँपालिकाको केन्द्र टोकरपुरमा रहेको बैंकमा नगद अभाव भएको छ । सदरमुकामबाट बैंकसम्म पैसा लैजान सहज सडक नहुँदा रकम भुक्तानीमा समस्या भएको बैंकका कर्मचारीले बताएका छन् । अहिले सामाजिक सुरक्षा भत्ता वितरणको काम भइरहेको कारण बैंकलाई नगद भुक्तानीको चाप छ । तर बैंकमा पर्याप्त नगद नहुँदा भुक्तानी दिन सकेको छैन । बैंकले भुक्तानी दिन नसक्दा सामाजिक सुरक्षा भत्ता लिन बैंकमा जाने कतिपय ज्येष्ठ नागरिक तथा अशक्त त्यतिकै फर्कने गरेका छन् ।








प्रतिक्रिया