३२ असार २०८३, बिहिबार

‘गुन्यो चोलो उर्फ गुलाबी’मा नाजिरको ‘ट्रान्सवुमन लुक्स’

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । भर्सटायल अभिनेता नाजिर हुसेनको बहुप्रतिक्षित चलचित्र ‘गुन्यो चोलो– कमिङ अफ अ्याज अफ अ गर्ल’ उर्फ ‘गुलाबी’को प्रदर्शन मिति घोषणा गरिएको छ ।

चलचित्र यही कार्तिक ९ अर्थात अक्टोबर २५ बाट रिलिज हुने पक्का भएको छ । बिहीबार निर्माण टिमले नाजिरको लुक्ससहितको पोस्टर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति घोषणा गरेको हो ।

सार्वजनिक पोस्टरमा नाजिरको ‘होसै उडाउने’लुक्स देख्न सकिन्छ । नाजिरको लुक्स र पोस्टरले नै चलचित्रको कथावस्तु बोल्छ । सिने क्षेत्रमा भर्सटायल अभिनेताको छवी बनाउनुभएका नाजिरले यस चलचित्रमा पनि कडा मेहेनत गर्नुभएको छ भन्ने छनक पोस्टरबाटै मिल्छ । नाजिरले ‘गुन्यो चोलो– उर्फ गुलाबी’ कै लागि भनेर आफ्नो १६ केजी तौलसमेत घटाउनुभएको थियो ।

पोस्टरमा नाजिर पहेलो रङ्गको वान पिसमा हुनुहुन्छ । उहाँले एउटा हातमा विग (नक्कली कपाल) बोक्नुभएको छ भने अर्को हातमा हिल्स बोक्नुभएको छ । उहाँको शरीरमा कहिँ कतै चोटको निशान छ । उक्त चोटको निशानले नाजिरको पीडा देखाउँछ । नाकमा नथिया, कानमा झुम्का र पुरै श्रृङ्गारमा सजिएका नाजिरको ‘ट्रान्सवुमन लुक्स’ आकर्षक देख्न सकिन्छ, जसको मेकअपदेखि चरित्र रुपान्तरण गज्जबको छ । पोस्टरका अनुसार चलचित्रमा नाजिरको पात्रको नाम ‘गुलाबी’ राखिएको छ । यस चलचित्रलाई निर्देशक समुन्द्र भट्टले निर्देशन गर्नुभएको छ । चलचित्रमा उहाँले गरेको मेहेनत पनि कम छैन ।

नाजिरले यस चलचित्रको चरित्र निर्माणका लागि जति संघर्ष गर्नुभएको छ, समुन्द्रले पनि चलचित्रलाई न्याय दिन उतिनै मेहेनत गर्नुभएको छ ।

निर्देशक भट्टले चलचित्रको पटकथा निर्माण र अनुसन्धानमा लैंगिक अल्पसंख्यकको क्षेत्रमा कार्य गर्ने संस्थाहरु ‘निलहिरा समाज’ र ‘मितीनी नेपाल’ संग पनि परामर्श गर्नुभएको थियो । धेरै खोज र अनुसन्धानपछि उहाँले यस चलचित्रमा आफ्नो ज्यान भर्नुभएको हो । चलचित्रलाई लिएर समुन्द्र निकै आशावादी हुनुहुन्छ । ‘गुन्यो चोलो उर्फ गुलाबी’ले आफ्नो निर्देशनको यात्रामा थप उचाई थप्नेमा भट्ट विश्वस्त हुनुहुन्छ ।

अमेरिकी कम्पनी ’भिजन ईन्टरटेन्मेन्ट’ र ’दि स्काई ओसन ईन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको चलचित्रले पारलैंङ्गिकताको कथालाई उठान गरेको छ । चलचित्रमा समुन्द्र भट्ट र नाजिर हुसेनको पटकथा तथा संवाद छ । नाजिरको अलावा चलचित्रमा अभिनेत्री संचिता लुइँटेल, सुशील सिटौला, अनुपम श्रेष्ठ र विशाल पहारीलाई पनि मुख्य भूमिकामा देख्न सकिन्छ ।

चलचित्रको थिममात्र नभएर प्रोडक्सन पनि ए–वान छ । चलचित्रको सम्पुर्ण पोस्ट प्रोडक्सनको काम बाहिर गरिएको हो । चलचित्रको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखी ब्याकग्राउन्ड म्युजिकसम्म्को काम हलिउड शैलीमा बाहिरै गरिएको छ । यसैबाट पनि चलचित्रको गुणस्तर मापन गर्न सकिन्छ ।

चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिनुभएको छ भने ब्याकग्राउन्ड म्युजिकको सम्पुर्ण काम मार्सेलो दि फ्रान्सिसीले गर्नुभएको छ । लिजाले स्वर भरेको वर्ष २०२४ कै बहुप्रतिक्षित हलिउड चलचित्र ‘ग्ल्याडिएटर–२’ यही डिसेम्बरमा आउँदैछ ।

नेपालको पहिलो पूर्णरुपको ट्रान्स स्टोरीमा निर्मित यो चलचित्र नेपाली फिल्म प्रोड्क्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोलाबोरेसनमा बनेको हो । चलचित्रमा आकाश बुढाथोकी र भि.भन्से जानुबोनको लगानी छ । चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुनुहुन्छ भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुनुहुन्छ ।

आलोक शुक्लाले खिचेको चलचित्रमा लेखु सहयात्रीको गीत रचना, विजय बस्यालको प्रोड्क्सन डिजाईन र सुरक्षा भट्टराईको मिडिया कोर्डिनेसन रहेको छ । चलचित्रमा पुष्कर लामा प्रोडक्सन हेडमा र राम भण्डारी क्रिएटिभ हेडमा हुनुहुन्छ ।