
काठमाडौं, २७ असार । भारतका पूर्वमुख्य प्रशिक्षक राहुल द्रविडले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)बाट अतिरिक्त बोनस लिन अस्वीकार गरेका छन् ।
द्रविडले बाँकी कोचिङ स्टाफको जस्तै पुरस्कार रकम मात्र लिने बताएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । द्रविडले अब अन्य आफ्नो कोचिङ स्टाफकै सरह साढे २ करोड भारु पुरस्कार पाउने भएका छन् ।
बीसीसीआईले टी-२० विश्वकप च्याम्पियन टोलीलाई १२५ करोड भारु नगद पुरस्कार दिने घोषणा गरेको थियो । यो पुरस्कार रकम खेलाडी र प्रशिक्षकका ४२ सदस्यलाई वितरण गरिएको हो ।
१२५ करोड रुपैयाँमध्ये टोलीका सबै १५ सदस्य र प्रशिक्षक राहुल द्रविडले ५-५ करोड रुपैयाँ पाउने बताइएको थियो ।
त्यस्तै, कोचिङ स्टाफका बाँकी सदस्यले २.५ करोड रुपैयाँ पाउने भएका छन् । अब द्रविडले पनि अन्य कोचिङ स्टाप सरहनै साढे २ करोड लिने भएका छन् । टी-२० विश्वकपमा द्रविडसँगै सपोर्ट स्टाफमा विक्रम राठौर, पारस महाम्ब्रे र टी दिलीप पनि थिए ।
मिडिया रिपोर्टकाअनुसार १५ खेलाडीले ५-५ करोड पाउने छन् भने द्रविडसहित कोचिङ स्टाफले २.५ करोड जनही पाउने छन् ।
त्यस्तै, फिजियोथेरापिष्टसहित ९ जनाको टिमले जनही २-२ करोड, ट्राभलिङ रिजर्भको रुपमा गएका चार खेलाडीले एक एक करोड तथा छनौट समितका ५ जनाले एक एक करोड पाउने भएका छन् ।
राहुल द्रविडलाई नोभेम्बर २०२१ मा भारतको मुख्य प्रशिक्षक बनाइएको थियो, जब टीम इण्डिया टी-२० विश्वकपको समूह चरणबाट बाहिर थियो । टोलीले फेरि २०२२ को टी-२० विश्वकपमा सेमिफाइनल खेलेको थियो । सन् २०२३ मा भएको एकदिवसीय विश्वकपपछि द्रविडको कार्यकाल सकिएको थियो तर टीम इन्डिया फाइनलमा पुगेपछि उनको कार्यकाल टी-२० विश्वकपसम्म बढाइएको थियो । त्यसपछि द्रविडले भारतलाई टी-२० मा विश्व च्याम्पियन बनाए । जुन २९ मा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै टी-२० विश्वकपको उपाधि जितेको थियो ।








प्रतिक्रिया