७ असार २०८३, आइतबार

एमाले सचिवालय बैठकले के-के निर्णय गर्‍यो ?

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । नेकपा (एमाले) का केन्द्रीय सचिवालय बैठक सम्पन्न भएको छ । बैठकमा एमाले र नेपाली कांग्रेसबीच भएका सहमतिका बारेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जानकारी गराउनुभएको थियो । उहाँले दुई दलबीच देशलाई स्थिरता दिने विषयमा सहमति भएको जानकारी बैठकमा गराउनुभएको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

यस बाहेक पार्टीका नेताहरूको जिम्मेवारी हेरफेरको मापदण्डका विषयमा पनि बैठकमा छलफल भएको छ । पार्टीका केन्द्रीय सदस्यलाई यसअघि दिइएको अन्तर जिल्ला जिम्मेवारी फिर्ता गर्ने बैठकले निर्णय गरेको छ । ‘एक वर्षअघि पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई सम्बन्धित भूगोलभन्दा बाहिर पठाएका थियौँ, अब आफ्नै भूगोलमा फर्काइनेछ’, बैठकपछि उपमहासचिव ज्ञवालीले भन्नुभयो ।

बैठकले केन्द्रीय सदस्यको कार्यक्षेत्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा हुने मापदण्ड तयार गरिएको छ । यसअघि पालिका इन्चार्ज बनेका केन्द्रीय सदस्यको कार्यक्षेत्र निर्वाचन क्षेत्र हुने भएको छ । अब प्रदेश कमिटी सदस्यहरू पालिकाका इञ्चार्ज हुनेछन् । त्यस्तै जिल्ला कमिटी सदस्य वडा इञ्चार्ज वडाका सदस्य टोल कमिटी इञ्चार्ज टोल कमिटी सदस्य पार्टी सदस्यसम्म पुग्ने गरी संयन्त्र निर्माण गरिने भएको हो । नेताहरूको कार्य विभाजन भने केही पछि हुने भएको छ । बैठकले प्रदेश कमिटीले अनुमोदनको लागि पठाएका केही प्रस्ताव पनि अनुमोदन गरेको उहाँले जानकारी दिनुभयो ।

बैठकले सबै जिल्लामा साउन मसान्तसम्म सदस्यता नवीकरण गरिसक्ने निर्णय गरेको छ । भदौसम्ममा केन्द्रीय संगठन विभागबाट प्रमाणीकरण गराइसक्नु पर्ने निर्देशन दिएको उहाँले बताउनुभयो । अधिवेशन गर्न बाँकी ११ वटा जिल्लाका अधिवेशन आउने कात्तिक भित्र सकिसक्नु पर्ने निर्णय बैठकले गरेको छ । ती कमिटीलाई संगठन कमिटीका रूपमा रूपान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।

यसै गरी पार्टीको सहकारी तथा गरिबी निवारण विभागको रिक्त रहेको सचिवको जिम्मेवारी परितोष पौडेललाई दिने बैठकले निर्णय गरेको छ । यसैगरी भूमी व्यवस्था विभागमा विजय सुवेदीलाई सचिव तोक्ने निर्णय बैठकले गरेको ज्ञवालीले जानकारी दिनुभयो ।