१ कार्तिक २०८३, शनिबार

औषधि खरिदमा भ्रष्टाचार : तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । सिरहाको नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेशकुमार झा र तत्कालीन लेखापाल सुरेशकुमार कुसियैतविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झा र लेखापाल कुसियैतले औषधि खरिद गर्दा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा मंगलबार मुद्दा दायर गरेको हो । झा अहिले जिल्ला प्रशासन कार्यालय सिरहामा प्रशासकीय अधिकृत र सूचना अधिकारी हुनुहुन्छ । भ्रष्टाचारसम्बन्धी मुद्दा दर्तासँगै उहाँ निलम्बनमा पर्नुभएको छ ।

आव २०७४/०७५ मा गाउँपालिकाले नियोमेड इन्टरनेशनलसँग ५७ प्रकारको औषधिजन्य मालसमान खरिद गरेको थियो । उक्त मालसमानको नियमविपरीत भुक्तानी आदेश र जिन्सी दाखिला प्रतिवेदनविना नै आपूर्तिकर्ताले पेश गरेको बिलबमोजिमकै सम्पूर्ण रकम भुक्तानी दिएको आयोगले ठहर गरेको छ ।

औषधि खरिदमा ६ लाख २० हजार ९६ रुपैयाँ भ्रष्टाचार गरेको र सोबमोजिम बिगो कायम गरी आयोगले दुबै जनाविरुद्ध आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षक बोधराज पौडेलविरुद्ध मुद्दा दायर गरेको छ । झुट्टा विवरण पेश गरी शिक्षक नियुक्ति लिएको आरोपमा कास्कीको दुर्गा आधारभूत विद्यालयका तत्कालीन शिक्षक पौडेल विरुद्ध मुद्दा दायर गरिएको हो । पौडेलले सरकारी जागिर प्रयोजनका लागि दुई वटा नागरिकता प्रयोग गरेको आरोप लागेको छ ।

यसैगरी, धनुषाको श्री माध्यमिक विद्यालय बरमझियाका राहत शिक्षक ब्रह्मदेव यादवविरुद्ध पनि मुद्दा दायर गरिएको हो । झुट्टा तथा नक्कली अध्यापन अनुमति पत्र सम्बन्धी आरोप उहाँमाथि छ । साथै अख्तियारले बरमझिया स्कुलमा वि.सं. २०६३ सालदेखि नि.मा.वि. राहत शिक्षक यादवले नक्कली स्थायी अध्यापन अनुमति पत्र पेश गरी नियुक्ति भई तलब भत्ता खाएको अख्तियारको दाबी छ ।