
काठमाडौं, २५ असार । बलिउड फिल्म निर्माता करण जोहर एकल अभिभावक हुनुहुन्छ । सन् २०१७ मा उहाँ सरोगेसीमार्फत दुई जुम्ल्याहा बच्चाको बुबा बन्नुभयो । उनीहरुको नाम यश र रुही हो ।
हालै एक अन्तर्वार्तामा करणले दुवै बच्चालाई एक्लै हुर्काउने विषयमा चर्चा गर्नुभएको थियो । उहाँले एक्लो अभिभावक बन्न सजिलो नभएको बताउनुभयो । करणले भन्नुभयो, ‘बच्चाहरूले सोध्छन् हाम्रो आमा को हो ?’ अहिले बच्चाहरूले आमाको नाम सोध्ने गरेको करणले बताउनुभयो ।
करणले भन्नुभयो, ‘हामी आधुनिक परिवार हौँ । कतिपय अनौठो परिस्थितिहरु यस्ता हुन्छन् जसरी बच्चाहरुले सोध्छन्- हामी कसको कोखबाट जन्मेका हौँ । आमा हाम्रो वास्तविक आमा होइन, उहाँ हजुरआमा हुनुहुन्छ । म यस अवस्थाको सामना गर्ने उपाय खोज्न एक सल्लाहकारमा जाँदैछु । यो कत्ति पनि सजिलो छैन, अभिभावकत्व सबै सजिलो छैन ।’
करणले पनि आफ्ना छोराछोरीलाई कुनै पनि कुरामा बाधा पुर्याउन डराएको बताउनुभयो । करणले भन्नुभयो, ‘जब म मेरो छोराले धेरै चिनीले बनेको चीज खाइरहेको देख्छु, म उसको बढ्दो तौलको चिन्ता गर्छु । म उसलाई केही भन्न सक्दिन किनकि यो बच्चाहरूको उमेर हो जब उनीहरूले खुलेर जीवनको आनन्द लिन सक्छन् । कयौं पटक मैले उसलाई बाधा पनि दिएँ तर पछि नराम्रो लाग्यो र म उसँग माफी माग्छु । म उसलाई खुशी देख्न चाहन्छु । म चाहन्छु कि मेरो छोरा र छोरीले भविष्यमा आफ्नो निर्णय आफै लिउन ।’
करण जोहर सन् २०१७ मा सरोगेसीमार्फत जुम्ल्याहा सन्तानको एक्लो पिता बन्नुभएको थियो । ४० वर्षको उमेरमा फिल्म निर्माताले आफ्नी आमालाई आफू विवाह गर्न नचाहेको तर बाबु बन्न चाहन्छु भन्नुभएको थियो । यसपछि यश र रुहीको जन्म सरोगेसीबाट भएको थियो । करणकी आमाले उहाँलाई छोराछोरी हुर्काउन सहयोग गर्नुहुन्छ ।








प्रतिक्रिया