१ असार २०८३, सोमबार

प्रेस काउन्सिलको निर्देशनपछि कान्तिपुरले हटायो विवादित क्लिप

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असार । चर्चित कलाकारलाई मुछेर कान्तिपुर टेलिभिजनले प्रसारण गरेको एक कार्यक्रमका विवादित क्लिप प्रेस काउन्सिल नेपालको निर्देशनपछि हटाइएको छ ।

उक्त टेलिभिजनको इट्स माइ सोमा दुई साताअघि प्रसारित सामाग्री विवादमा तानिएको थियो । ती सामाग्री आपत्तिजनक र तथ्यहीन भन्दै अभिनेत्री जसीता गुरुङसहितले चर्को विरोध गर्नु भएको थियो । प्रेस काउन्सील नेपालले उक्त शो सार्वजनिक भएलगत्तै स्वअनुगमन गरेर त्यसबारे प्रष्ट पार्न २४ घण्टे पुर्जी काटेको थियो । कान्तिपुरले दिएको लिखित जवाफ चित्त नबुझेर काउन्सिलले प्रस्तोता ओसिन सिटौलासहितलाई लगत्तै बयानका लागि कार्यालयमै बोलाएको थियो ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतसहितको उपस्थितिमा टेलिभिजनको टोलीले नै त्यस्ता प्रसंग आएकोमा माफी मागेको थियो । प्रेस काउन्सिलले त्यस्ता विवादास्पद सामाग्री तत्काल हटाउन र त्यसको जानकारी युट्युव च्यानलसहित माध्यममा गराउन लिखित निर्देशन दिएको थियो ।

त्यसलगत्तै टिभिले विभिन्न कलाकारको नाम एक अर्कालाई जोडेर प्रसारित आपत्तिजनक अभिव्यक्ति हटाएको हो । प्रेस काउन्सिल समक्ष प्रस्तोता सिटौलाले व्यक्तिगत लाञ्छना लगाउने, आचारसंहिता विपरीत हुने गरी आफूले कुनै काम नगर्ने प्रतिवद्धता जनाउनु भएको थियो । यो प्रकरण काउन्सिलमा विचाराधिन रहेकाले थप कारवाही के हुन्छ भन्ने खुलेको छैन ।

प्रेस काउन्सिलले पछिल्लो समय विभिन्न मिडियामा आएका आचारसंहिता विपरीतका सामाग्री, हुबहु कपी गरी दिएका सामाग्री र बार्गेनिंग गरेका मुद्धामा सक्रियता देखाइरहेको छ ।

यसअघि सिधाकुरा, नेपालआज, दैनिकी, फरकधार, अनलाइनपानासहित ३ दर्जन सञ्चारमाध्यमलाई काउन्सिलले कडा कारवाही गरिसकेको छ ।