२१ असार २०८३, आइतबार

नेपालमा खुला शिक्षालाई प्राथमिकतामा राख्न सुझाव

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अष्ट्रेलिया, २१ असार । जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन अष्ट्रेलिया च्याप्टरले आयोजना गरेको वेबिनारलाई सम्बोधन गर्दै नेपाल तथा प्रवासमा रहेका विज्ञहरुले नेपालमा सर्वसुलभ तथा गुणस्तरीय उच्च शिक्षाको विस्तारका लागि खुला शिक्षालाई बढावा दिनुपर्ने जनाएका छन् ।

नेपाल खुला विश्वविद्यालय (ओपन युनिभर्सिटी)कीउपकुलपति प्रा. शिलु मानन्धरले उच्च शिक्षामा पहुँच नपुगेका जनसमूदायलाई शिक्षामा पहुँच पुर्‍याउनका लागि खुला शिक्षाको अवधारणा आएको बताउनुभयो । पहिला पनि यो पद्धति रहेपनि कोभिड-१९ को लकडाउनपछि यसको महत्व बढेको उहाँले बताउनुभयो । तर अहिले पनि खुला विश्वविद्यालयबाट उत्तिर्ण भएका विद्यार्थीहरुले मान्यता पाउन ढिला हुँदा केही अप्ठेरो परेको उहाँले बताउनुभयो ।

विगतमा केही विषयहरुमा अध्ययन गर्दा उनीहरुले रोजगारीका लागि निवेदन दिन पाएका थिएनन् । यसैगरी, खुला विश्वविद्यालयबाट पासआउट भएका विद्यार्थीहरुले थप उच्च शिक्षाका लागि अघि बढ्न खोज्दा अन्य संस्थाहरुले रोक लगाउँदा केही अप्ठेरो परेको पनि मानन्धरले बताउनुभयो । उहाँले खुला विश्वविद्यालय जय नेपाल फाउन्डेशनलगायत प्रवासमा रहेका नेपाली प्राज्ञहरुसँग सहकार्य गर्न इच्छुक रहेको पनि बताउनुभयो ।

अष्ट्रेलियाको सदर्न क्विन्सल्याण्ड विश्वविद्यालयअन्तर्गत स्कुल अफ सर्भेइंग एण्ड बिल्ट अनभायरनमन्टका प्राध्यापक डा. देवराज पौड्यालले अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयहरु मिलेर झन्डै १,१०० भन्दा बढी डिग्री कार्यक्रमहरु खुला तथा दूर शिक्षामार्फत सञ्चालन भइरहेको बताउनुभयो । आफ्नो विश्वविद्यालयमा अहिले झन्डै ४५० जना नेपाली विद्यार्थीहरु पढिरहेको पनि उहाँले जानकारी दिनुभयो । न्यू कोलम्बो प्लानअन्तर्गत आफ्नो विश्वविद्यालयका विद्यार्थीहरुलाई स्थलगत अध्ययनका लागि नेपाल लगेर जाने गरेको उहाँले बताउनुभयो । प्राध्यापकहरुले कक्षामा पढेको भन्दा बढी विद्यार्थीहरुले ‘कृत्रिम बुद्धिमत्ता’ (एआइ)बाट सिकी रहेको उहाँले जनाउनुभयो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सरकारले शिक्षाको क्षेत्रमा अझै धेरै काम गर्नुपर्नेमा जोड दिनुभयो । नेता कोइरालाले हरेक दिन नेपालको उच्च शिक्षाको गुणस्तरमा ह्रास आइरहेको पनि टिप्पणी गर्नुभयो । नेपालको सन्दर्भमा खुला शिक्षा अत्यन्त उपयोगी रहेको बताउँदै नेपालको उच्च शिक्षालाई कसरी सुधार्ने भन्नेबारे विज्ञहरुको सुझाव लिएर सरकारले तत्काल पहल थाल्नुपर्नेमा जोड पनि दिनुभयो ।

अष्ट्रेलियास्थित नेपाली दूतावासका उपनियोग प्रमुख कुलबहादुर मगरले नेपालबाट उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुको माध्यमबाट अर्बौ रकम गइरहेकाले नेपालका विश्वविद्यालयहरुको भविष्यका लागि पनि सरकारले सोच्नु पर्नेमा जोड दिनुभयो । अहिले पनि स्वदेश र विदेशको शिक्षाकोबीचमा खाडल रहेको बताउँदै हुने खाने र हुँदा खाने वर्ग भनेर शिक्षामा भिन्नता देखिनु देशकै लागि दुःखद् भएको बताउनुभयो ।

सरस्वती क्याम्पस, काठमाडौंका सहप्राध्यापक डा. विष्णु पोखरेल, अमेरिकामा बसोबास गर्ने शहरी योजनाविद प्रा.डा. अम्बिकाप्रसाद अधिकारी, डा. प्रमोद ढकाल, डा. हिमलाल घिमिरे, डा. द्रोण रसाइलीलगायतले आफ्ना धारणा राख्नुभएको थियो ।

वेबिनारमा भौगोलिक रुपले विकट नेपालको पहाडी इलाका तथा तराईको पिछडिएका क्षेत्रमा दूर शिक्षाको पहुँच कसरी विस्तार गर्ने, अष्ट्रेलियालगायत संसारभरिका विश्व विद्यालयहरुसँग विद्यार्थी तथा फ्याकल्टी आदान प्रदानलगायत कसरी सहकार्य प्रवद्र्धन गर्ने र दूर शिक्षालाई कसरी कम लागतमा दीगो बनाउनेलगायतका विषयमा छलफल गरिएको थियो ।

जय नेपाल इन्टरनेशनल फाउन्डेसन अष्ट्रेलिया च्याप्टरका सचिव अभिमन्यु केसीले सञ्चालन र डा.राजु अधिकारीले सहजीकरण गरेको कार्यक्रममा अष्ट्रेलिया च्याप्टनरका अध्यक्ष डा।डिल्ली बन्जाडेले स्वागत गर्नुभएको थियो भने जय नेपाल इन्टरनेशल फाउन्डेसनका अध्यक्ष डा. यादव पण्डितले सबैलाई धन्यवाद दिनुभयो ।