२८ जेष्ठ २०८३, बिहिबार

नेपाली खेलकुदको इतिहासमै पहिलोपटक एन्थ्रोपो मेट्रिक अनुसन्धान

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असार । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाली खेलकुदकै इतिहासमा एन्थ्रोपो मेट्रिक अनुसन्धान सुरु गरेको छ ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङको अवधारणा अनुरुप अन्य मुलकुमा झै नेपालमा पनि खेलकुद विज्ञानमा आधारित रहेर ग्रासरुटदेखि नै खेलाडीको पहिचान गरी राष्ट्रलाई योगदान दिने भावी खेलाडीको पहिचान गर्न मद्दत पुगोस् भन्ने उद्देश्यले नेपालमै पहिलोपटक एन्थ्रोपो मेट्रिक अनुसन्धानको सुरुआत गरिएको हो ।

विभिन्न जातजाती र भौगोलिक अवस्था अनुसार खेलाडीको क्षमता पहिचान गर्न तथा १३ देखि १५ वर्ष उमेरसमूहका युवाहरुको शारीरिक बनोटको पहिचान गरी उनीहरुलाई उपयुक्त हुने खेलको छनोटका लागि सहजीकरण गर्ने उद्देश्यले एन्थ्रोपो मेट्रिक अनुसन्धान गरिएको हो ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशको विभिन्न जिल्लामा अनुसन्धान गरिएको थियो ।

राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान)का निर्देशक कृष्ण तिमिल्सिना, खेल विज्ञ कुमारी हिरा पन्त र सहायक प्रथम शिवराज भट्टको टोलीले स्थानियसँग समन्वय गरी अनुसन्धान गरेको हो । सुदूरपश्चिमको कञ्चनपुर र डडेल्धुरा, कर्णालीको सुर्खेत र सल्यान, लुम्बिनीको दाङ र बाँके, गण्डकीको कास्की र बाग्लुङ, मधेशको धनुषा र सिरहा, कोशीको सुनसरी र सोलुखुम्बु तथा बागमतीको काठमाडौं र चितवनमा अनुसन्धान गरिएको थियो ।

अनुसन्धानमा थारु, मगर, ब्रहमण, क्षेत्री, थकाली, गुरुङ, तामाङ, दलित समुदायका १३ देखि १५ वर्ष उमेरसमूहका ८ सय ५० बालवालिका समावेश थिए । सोही टोलीले अनुसन्धानका क्रममा सातै प्रदेशका विभिन्न जिल्लामा परम्परागत खेलको अनुसन्धान पनि गरेको थियो । कुन स्थानमा कुन÷कुन परम्परागत खेल खेलिदै आएको छ भन्ने तथ्यांक संकलन गरी त्यस क्षेत्रमा खेलको विकास र विस्तार गर्दै खेलको जगेर्ना गर्ने उद्देश्यले परम्परागत खेलको पनि अनुसन्धान गरिएको निर्देशक तिमल्सिनाले बताउनुभयो ।

यसका लागि २५ देखि ८५ वर्ष उमेरसमूह, लामो समयसम्म खेलकुदमा सक्रिय, विश्वविद्यालयका प्राध्यापक तथा पदाधिकारीहरुको समूहबाट परम्पारगत खेलका विषयमा जानकारी लिइएको थियो ।

टोलीले राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई बिहीबार प्रतिवेदन बुझाएको छ । यस अवसरमा सदस्यसचिव घिसिङले यो अनुसन्धानले नेपाली खेलकुदमा एउटा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै राखेपले कार्य योजना तयार गरी अगाडि बढ्ने बताउनुभयो ।

‘नेपाली खेलकुदमा यो एउटा विल्कुलै नयाँ अभ्यास हो । हाम्रो पहिलो प्रयासले नेपाली खेलकुदमा नयाँ आयाम थप्ने विश्वास छ । आशा छ क्षमता भएर पनि कसैको नजरमा नपरेका क्षमतावान खेलाडी अगाडि आउने छन् ।’ सदस्यसचिव घिसिङले भन्नुभयो ‘आगामी दिनमा अनुसन्धानको दायरालाई अझ फराकिलो बनाउदै लैजाने छौँ ।’ सदस्यसचिव घिसिङले नेपालमा खेलिने परम्परागत खेलको पनि तथ्यांक संकलन गर्नु महत्वपूर्ण भएको बताउँदै यसले नेपालमा खेलिने मौलिक खेलहरु के के हुन्, कहाँ कहाँ खेलिन्छन् र कुन अवस्थामा छन् भन्ने जान्न र जगेर्ना गर्न जरुरी भएको बताउनुभयो ।