२१ असार २०८३, आइतबार

सेबोन अध्यक्ष नियुक्तिका सम्बन्धमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असार । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिको प्रक्रियाका सम्बन्धमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सरकारले अध्यक्ष नियुक्तिका सम्बन्धमा हालसम्म सम्पन्न गरेका छनोटसम्बन्धी सम्पूर्ण प्रक्रियाहरु यही असार १४ गते रद्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।

न्यायाधीश अब्दुल अजीज मुसलमानको आजको एकल इजलासले उक्त रिटमाथि सुनुवाई गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै यही असार २१ गते दुवै पक्षलाई छलफलका लागि समेत बोलाएको अदालतका प्रवक्ता गोविन्द घिमिरेले जानकारी दिनुभयो ।

अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका पाँच जनामध्ये तीन जना अन्तर्वार्तामा अनुपस्थित भएको भन्दै अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले उक्त प्रक्रिया नै रद्द गर्ने निर्णय गरेको थियो । सोही नियुक्तिका लागि सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठले प्रक्रिया रद्द गर्ने समितिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

सरकारले उक्त प्रक्रिया रद्द गरी पुरानै सदस्यहरु रहने गरी अध्यक्ष नियुक्तिका लागि नयाँ समिति समेत गठन गरिसकेको छ ।